‘जबरजस्ती’ नेपाल अवतरण गरेको सिल्क एअरको यस्तो थियो लफडा

मकवानपुर । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्चदेखि लागु हुने गरी युरोप र पश्चिम एसियाबाट आउने नागरिकमाथि रोक लगाएको थियो । त्यस्तै खाडी क्षेत्रका देशहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती देशलाई ट्रान्जिट बनाइ अन्य देशबाट आउने नागरिकमाथि पनि प्रतिबन्ध लगाएको थियो ।
समितिको निर्णयअनुसार २० तारिख अर्थात् शुक्रबार रातिदेखि नेपालमा पाँच देशका जहाज मात्रै आउन पाउँछन् । भारत, चीन, सिङ्गापुर, हङकङका जहाज मात्रै नेपाल आउन पाउँछन् । ती जहाजले पनि नेपालले हवाई उडान प्रतिबन्ध लगाएका देशका यात्रु बोकेर नेपाल आउन पाउँदैनन् ।
सिङ्गापुर एअरलाइन्सको जहाजलाई आइतबार रातिसम्म नेपाल आउन प्रतिबन्ध नभएकाले जहाज सधैँ जस्तो गरेर शनिबार राति ८ बजेर ४० मिनेटमा अवतरण हुने तालिकासहित ९८ जना यात्रु लिएर नेपाल आएको थियो । तर सिङ्गापुरबाट आएको जहाज नेपालको आकाशमाथि प्रवेश गर्ने बित्तिकै हल्ला चल्यो, ‘जहाजमा एक जना युरोपबाट आएका नागरिक पनि छन्’ ।
सरकारले युरोपबाट आउने या ट्रान्जिट भएर आउने कुनै पनि नागरिकलाई नेपाल छिर्न प्रतिबन्ध लगाएको थियो । तर जहाजमा युरोपका नागरिक भएको हल्ला चल्यो ।
हल्लाबारे पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराए । विमानस्थलको एअर ट्राफिक कन्ट्रोलर अर्थात् एटीसीले विमानस्थल प्रशासनलाई यो कुरा भने । नेपालले प्रतिबन्ध लगाएका देशका यात्रु रहेकाले जहाजलाई नेपालमा अवतरणको अनुमति नदिने निर्णय भयो । त्यतिञ्जेल जहाज मकवानपुरमाथि आइसकेको थियो । एटीसीले पनि नेपालले प्रतिबन्ध लगाएको देशका नागरिक बोकेर आएकोले अवतरण अनुमति नदिने भन्दै जहाजलाई सिङ्गापुर नै फर्कन आदेश दियो ।
तर जहाजका पाइलटले जहाजमा इन्धन कम रहेकाले भरेर मात्रै फर्कने भन्दै अवतरणको अनुमति मागे । अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको प्रावधान अनुसार इन्धन सकिएको जहाजलाई अवतरण अनुमति दिनुपर्ने भएकाले एटीसीले जहाजलाई अवतरण गर्न दियो ।
अवतरण गरेर जहाजले तेल हालेर फेरि सिङ्गापुर फर्कनको लागि रनवे मा ब्याक हुन लाग्दा विमानस्थलभित्र रहेका यात्रुले हो–हल्ला गरे । आफ्नो देशमा आइसकेकाले कुनै पनि हालतमा फेरि सिङ्गापुर नजाने भन्दै नाराबाजी गरे । विमानस्थलभित्र नाराबाजी बढ्दै गएपछि पाइलटले जहाज उडाएनन् । फर्काएर पार्किङ क्षेत्रमा ल्याए । विमानस्थलभित्र होहल्ला भइरह्यो ।
आफन्तलाई लिन विमानस्थल पुगेका र सिल्क एअरको जहाजबाट सिङ्गापुर जान भनेर विमानस्थल पुगेका एक सय ६५ जनाले पनि विमानस्थलको आगमन कक्ष र प्रस्थान कक्षबाहिर नाराबाजी गरिरहेका थिए ।
त्यसपछि विमानस्थल प्रशासनले सरकारका अन्य निकायसँग सल्लाह गर्यो । सबै यात्रुको पासपोर्ट पार्किङ क्षेत्रमा रहेको जहाजभित्रै जाँच भयो र जहाजमा कुनै पनि युरोपेली देशका नागरिक नभएको पुष्टि भयो । सबै नेपाली पासपोर्ट लिनेहरु थिए । बरु केही दिनदेखि सिङ्गापुरमै बस्दै आएका नेपाली पासपोर्ट भएका जापानी मुलका एक दम्पति र अस्ट्रेलियन मुलकी एक नेपाली महिला रहेको पुष्टि भयो । उनीहरु नेपालले प्रतिबन्ध लगाएका देशबाट नआएको पुष्टि भयो ।
अवतरण भएको झण्डै तीन घन्टापछि उनीहरुलाई ओरालेर विमानस्थलमा सबैको बृहत् स्वास्थ्य जाँच गरियो । राति नै तीन जनालाई क्वारेन्टाइन पठाइयो । अरु यात्रु होम क्वारेन्टाइनमा बस्ने सहमति सहित घर गए ।
त्यही जहाजमा सिङ्गापुर जान भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक सय ६५ जना नागरिकले पनि विमानस्थलको प्रस्थान कक्षमा हो–हल्ला गरिरहेका थिए । एक सय ६५ जनालाई सिल्क एअरले होटलमा राख्यो । शनिबार राति सिङ्गापुर जान नपाएका एक सय ६५ यात्रु बोकेर सिल्क एअरको जहाज आइतबार दिउँसो सिङ्गापुर उड्नेछ । उज्यालो अनलाईन डटकमबाट