मकवानपुरगढी गाउँपालिकामा कोरोना नियन्त्रणका लागि आवश्यक तयारी पूरा
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले कोरोना नियन्त्रण विपद व्यवस्थापन कोष निर्माण गरेको छ । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रणका लागि स्थापना गरिएको कोषमा गाउँपालिकाका तर्फबाट पाँच लाख र बागमती प्रदेश सरकारका तर्फबाट दश लाख रुपैंया जम्मा गरिएको छ ।
कोषमा गाउँपालिकाका जनप्रतिनिधीले पाइरहेको पारिश्रमिकबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने तथा बाँकी आवश्यक रकम सामाजिक संघसंस्था, उद्योग, निकाय तथा व्यक्तिले इच्छा अनुसार सहयोग गर्नसक्ने पनि निर्णय गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण विपद व्यवस्थापन कोष निर्माण गर्ने निर्णय गरेको हो । बैठकले ‘कोरोना प्रभावितलाई राहत वितरण कार्यविधी २०७६’ अनुमोदन गरेको छ । गाउँपालिकाको वडा नम्बर २, शिखरकटेरीस्थित चण्डिका मावि र वडा नम्बर ६ बागदलीस्थित इश्वरी प्राथमिक विद्यालयमा दश शैयाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय बमोजिम निर्माण कार्य पूरा भइसकेको छ । यस्तै, कोरोना भाइरसको संक्रमण जोखिम नियन्त्रण गर्न तथा आवश्यक व्यवस्थापन गर्नका लागि मकवानपुर जिल्लास्थित कोरोना विपद व्यवस्थापन कोषलाई रु.२ लाख रकम सहयोग स्वरुप उपलब्ध गराउने, गाउँपालिकाको प्रत्येक वडामा उपभोग्य सामाग्री दिने २ देखि ३ वटा पसल र एक वटा खाद्य सामग्री ढुवानी गर्ने गाडीलाई पास उलपब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारी दिए ।
यस्तै, गाउँपालिकाको विभिन्न चार वटा वडामा भोलि (शुक्रबार ) बाट कोरोना भाइरस (कोभिड-१९ ) को जोखिम नियन्त्रणका लागि ‘हेल्थडेक्स’ संचालन गरिने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको अध्यक्षतामा को क्वीक रेस्पोन्स टिमको बैठकले वडा नम्बर १ को लेनडाँडा, वडा नम्बर २ को शिखरकटेरी, वडा नम्बर ४ को मनकामना चोक, वडा नम्बर ५ को बुङ्दलमा ‘हेल्थडेक्स’ संचालन गर्ने निर्णय गरिएको हो । एक जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी रहने ‘हेल्थ डेक्स’ दुई सिफ्ट गरी संचालनको तयारी गरिएको हो । विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म एक सिफ्ट र मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट ‘हेल्थडेक्स’ संचालन हुने गाउँपालिकाका स्वास्थ्य संयोजक विदुरप्रसाद लामिछानेले जानकारी दिए ।
गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाका हरेक स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) वितरण गरिसकिएको छ भने संक्रमण नियन्त्रणका लागि अत्यावश्यक सामग्री व्यवस्थापन तथा वितरण समेत गरिसकिएको जनाइएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्येक वडाका बढी जमघट हुने स्थानमा क्लोरिन झोल छर्कने तयारी गरिएको, वैदेशिक रोजगारबाट आएका र बाहिरी जिल्लाबाट आएकाको पहिचान गरी घरमै पुगेर फरहेड थर्मोमिटरबाट ज्वरो नाप्ने काम निरन्तर भइरहेको, व्यवहार परिवर्तनका लागि प्रत्येक वडाका चोक चोकमा हात धुने व्यवस्था भएको, गाउँपालिकामा कोरोना पहिचानका लागि निशुल्क रुपमा एम्बुलेन्स प्रयोग गरिने गाउँपालिकाकी अनमी रमिला घलानले जानकारी दिइन् ।