चामल किन्न राक्सिराङलाई दुई लाख सहयोग
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका विपन्न समुदायका लागि चामल, दाल लगायत खाद्यान्न बितरण गर्नका लागि मनहरीका सुमन कार्की र रामकुमार रायमाझी (हारा) , नवराज थिङसहितका व्यवसायीले दुई लाख रुपियाँ सहयोग गरेका छन् ।
राक्सिराङ गाउँपालिकाको नदीजन्य उत्खनन्को ठेक्काको काम गरिरहेका कार्की, रायमाझी र थिङसहितको टोलीले चामल किन्नका लागि २ लाख रुपियाँ नगद गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाले ६ सय बोरा चामल किन्ने क्रममा सुमन कार्कीसहितको टोलीबाट २ लाख रुपियाँ नगद सहयोग प्राप्त गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
अध्यक्ष मल्लका अनुसार नदीजन्य बस्तुको उत्खनन् ठेक्का पारेको आरबी अर्बान बिल्डर्स एण्ड सप्लायर्सले नदीजन्य बस्तुको उत्खनन्को काम राक्सिराङमा गरिरहेको छ । यसको नेतृत्व कार्की, रायमाझी र थिङसहितका व्यवसायीहरुले गरिररहेका छन् ।
‘राक्सिराङका बासिन्दालाई भोकमरी परेको खबर सुनिएकाले मैले सहयोग गर्ने कामको अगुवाई गरेको हुँ’, युवा व्यवसायी तथा समाजसेवी सुमन कार्कीले भने, -‘हामी केही साथीहरु मिलेर यस क्षेत्रमा नदीजन्य बस्तु उत्खनन्को काम गरिरहेका छौँ ।’ आवश्यक पर्ने ठाउँहरुमा अझै सामाजिक काम गर्दै अघि बढ्ने उनले बताए ।
सहयोग गर्नेहरु कार्की मनहरीका पुराना व्यवसायी तथा नेपाली काँग्रेस मनहरीका पूर्व सभापति हुन् भने रायमझी नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष र थिङ जिल्ला सदस्य हुन् ।