मनकारी सुनील मोक्तान, जसले लगाउँदै छन् लकडाउनको पीडामा रहेका अति विपन्नलाई मल्हम

लोकखबर
२३ चैत्र २०७६, आईतवार १८:५६

मकवानपुर । हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष युवा नेता सुनील मोक्तानले लक डाउनको पीडामा रहेका अति विपन्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेका बीस घर परिवारलाई आज आइतबार राहत वितरण गरेका छन् ।

मोक्तानले रातोमाटेको प्रगतिटोल, शान्ति टोल र सिमसार टोलका दैनिक ज्याला मजदुरीबाट छाक टार्दै आइरहेका अति विपन्न, वृद्द, वृद्दा, एकल महिलालाई चामल, दाल, नुन, तेल सहयोग गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा सदस्य कुमारी श्रेष्ठको रोहबरमा लक डाउनका कारण विहान बेलुकाको छाक टार्नै समस्या भइरहेकाहरुलाई सहज होस् भन्ने उद्देश्यले युवा नेता मोक्तानले राहत सहयोग गरेका हुन् ।

साविक चुरियामाई गाउँ विकास समितिका पूर्व अध्यक्ष इन्द्रमान स्याङतान, स्थानीय टोल विकास समितिका अध्यक्ष प्रकाश दोङ, स्थानीय युवा लगायतको सहभागिता एवं इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाको संयोजनमा राहत वितरण गरिएको हो ।

यसअघि अस्ति शुक्रबार पनि मोक्तानले वडाका जन प्रतिनिधीको रोहवर तथा स्थानीय युवाहरुको सक्रियतामा हेटौंडा १५, रातोमाटेका ३१ परिवार अति विपन्नलाई राहत सहयोग गरेका थिए । आफू पनि हेटौंडा १५ नम्बर वडा निवासी नै भएको र विपद्को पीडामा एकले अर्कोलाई सहायता गर्नु मानव धर्म पनि भएकाले आफ्नो तर्फबाट सहयोगको कार्य अन्तर्गत राहत वितरणलाई निरन्तरता दिइएको मोक्तानले बताए ।
राहत वितरण गर्दै मोक्तानले भने, ‘विपद्को घडीमा सबै ठाउँमा सरकार पुग्न सक्दैन । पीडामा परेकालाई तत्कालै राहत चाहिने भएकाले आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने लागेकाले सहयोग गरेको हुँ । ’ विश्वव्यापी रुपमा मानव जातिलाई संताएको विपद् भएकाले यस्तो बेलामा जात, धर्म, पार्टी भन्दा माथि मानवीताको नाताले सहयोग गर्नुपर्छ भन्ने लागेर मनैदेखि लागेर आफ्नो तर्फबाट सहयोग गरेको उनको भनाई छ । ‘ यो बेला आपतमा परेकालाई जााति, धर्म र पार्टी भनेर छुट्याउँनु हुँदैन । सरकारले सबै ठाउँमा ध्यान दिन नसरिहेको अवस्थामा हामीले आफ्नो ठाउँबाट सकेजति सहयोग गर्नुपर्छ भनेर आफ्नो सानो भूमिका निर्वाह गर्ने प्रयास गरेको हुँ ।’ मोक्तानले भने । व्यक्ति तथा संघसंस्थाले गरेको सामान्य राहतले पीडामा रहेकालाई नपुग्ने भएकाले राज्यका तर्फबाट जतिसक्दो चाँडो सहयोग हुनुपर्ने पनि उनले माग गरे । ‘पीडितलाई तत्काल चाहिने सामान्य खाद्यान्न सहयोग गरेर हामीले एउटा सामान्य सहयोगी भूमिका मात्र निर्वाह गरेका हौं । पीडामा रहेकालाई राज्यका तर्फबाट विशेष सहयोग होस् भन्ने मेरो माग छ । ’ मोक्तानले भने ।

विश्वव्यापी माहामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड – १९ ) संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले देश लक डाउन गरेपछि दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएकाहरु अहिले प्रत्यक्ष मारमा परेको भन्दै मोक्तानले यस्ता वर्ग समक्ष सहयोगका विशेष कार्यक्रम पुग्नुपर्ने बताए ।

अझै पनि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा लक डाउनका कारण दैनिक गुजारा चलाउँनै समस्या भएका अति विपन्न, वृद्द, वृद्दा,अशक्तता भएका व्यक्ति भएमा आफू राहत स्वरुप सहयोग गर्न तयार रहेको उनको भनाई छ ।
‘जीवनको २६/२७ वर्ष राजनीतिक तथा सामाजिक अभियानमा बिताइयो । अबको बाँकी जीवन पनि दिन दुःखी तथा असहायलाई सहयोग पुग्ने गरी सामाजिक कार्य गर्दै बिताउन मन छ । ’ मोक्तानले भने ।

मोक्तानले आफ्नो जन्म दिनका अवसरमा हेटौंडा १५ रातोमाटेस्थित दिव्यसेवा ज्येष्ठ नागरिक आश्रयमा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ्यका लागि आर्थिक सहयोग गर्दै आइरहेका छन् भने छोरा सक्सेसको जन्म दिनको अवसरमा चुरियामाई उमाविका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आइरहेका छन् । आफ्नो तथा छोरोको जन्म दिनको अवसरमा आफ्नो तर्फबाट सहयोग गर्दै आइरहेको अवस्थामा अहिले विश्वमा नै आइपरेको माहामारीको पीडामा पनि सक्दो सहयोग गर्नु आफ्नो धर्म रहेको मोक्तानले बताए ।

हेटौंडा अस्पतालमा सफल र इमान्दार नेतृत्व भूमिका निर्वाह गरी स्याबासी पाएका युवा नेता मोक्तानले विभिन्न सामाजिक संघसंस्थामा आबद्द रही आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला कमिटि सदस्य, पार्टीको युवा सह इन्चार्ज, नेपाल तामाङ घेदुङको संघीय सदस्य, चुरियामाई उच्च मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र नेपाल सितोरियो कराँते मकवानपुरको अध्यक्षको भूमिकामा रही आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*