नेपाललाइ एनआरएनए कोरियाबाट आयो यस्तो सहयोग
मकवानपुर । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपालका लागि ‘कोभिड १९’ परीक्षणका लागि विभिन्न सामग्री सहयोग गरेको छ ।
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले कोरियाका लागि कार्यबाहक नेपाली राजदुतलाई ४ हजार थान परिक्षण किट, पाँच सय थान पीपीपी सेट लगायत करिब ४५ लाख रुपैंया बराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) बाट नेपालका नेपालीको स्वास्थ्य सुरक्षा गर्न सरकारलाई सहजता होस् भन्ने सोच सहित दक्षिण कोरियामा आयोजित पत्रकार सम्मेलनमार्फत आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।
नेपालमा ‘कोभिड १९’ को जोखिम नियन्त्रणका लागि दक्षिण कोरियास्थित एनआएनएले कोरियामा रहेका स्वतन्त्र नेपाली अभियन्ताहरुको सहभागितामा ‘एक व्यक्ति, एक किट अभियान ’ सञ्चालन गरेको थियो । विपद्मा परेका बेला नेपालीहरु जहाँ भएपनि आफ्नो देश र देशका नागरिकको दुःखमा साथ दिन तयार रहने गरेको भन्दै कोरोना भाइरसको पीडामा मल्हम लगाउन आफूहरु सहयोगको अभियानमा रहेको अध्यक्ष सुवेदीले बताए ।
अध्यक्ष सुवेदीले आफूहरुले नेपालका लागि चीनबाट थप सत्तरी लाख रुपैंया बराबरको ‘कोभिड १९’ को जोखिम नियन्त्रणका लागि विभिन्न सामग्रीहरु खरिद गरी सकेको बताए । ‘ पीपीई सेट २ हजार थान, एन ९५ माक्स १० हजार थान, सर्जिकल माक्स २० हजार थान, ग्लोब्स २ हजार थान, थर्मोमिटर पाँच सय थान सामग्री चीनमा व्यवस्थापन गरिसकेका छौं । अध्यक्ष सुवेदीले भने, ‘तर नेपालबाट सामान बुझ्न जाने व्यवस्था नभएकाले ति सामग्री तयारी अवस्थामा राखिएको मात्र छ ।’ आफूहरुले चीनबाट पठाउँन लागिएको सामग्रीबाट नेपालमा कोभिड १९ जोखिम नियन्त्रणका लागि सहजता मिल्ने अपेक्षा गरेकाले तत्कालै सरकारले सो सामग्री लिन जाने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन् । ‘ हामी नेपाली एक भएर परेको बेला आवश्यक सहयोग गर्न तयार छौं । तर सरकारले पनि समयमै हाम्रो सहयोग बुझ्ने व्यवस्था मिलाउँदा सहयोग प्रभावकारी हुने थियो । ’ सुवेदीले भने, ‘ सहयोगी मन भएका नेपालीहरु आफ्नो देशमा परेको आपतमा सहयोग गर्न तयार भए अनुसार नेपाल सरकारका तर्फबाट सोही बमोजिमको तत्परता भएमा हामीलाई अभियानमा जुटिरहन थप सफलता मिल्नेछ ।’
‘कोभिड १९’ विरुद्दको लडाईमा नेपालका लागि सहयोग गर्न कोरियामा रहेर भूमिका खेल्ने नेपालीलाई उनले आभार व्यक्त गरेका छन् ।