दुई जनामा कोरोना संक्रमण पुष्टि, अरु तीन जनाको र्‍यापिड टेस्टमा पोजेटिभ

लोकखबर
२ बैशाख २०७७, मंगलवार ०४:५६

मकवानपुर । सोमबार कैलालीको लम्की चुहाकी ६५ वर्षीया वृद्दामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण भएको पुष्टि भएको छ । उनी वीरगन्जमा चिया पसल संचालन गर्दै आइरहेकी थिइन् । लक डाउनले समस्या पारेपछि उनी १७ चैतमा कैलालीको लम्की गएकी थिइन् । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेर र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । अहिले उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ ।
यस्तै, रौतहटका एक युवकमा संक्रमण भएको छ । इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दिल्लीको ब्याग उद्योगमा काम गर्दै आइरहेका उनी तीन जना साथी सहित हिडेका थिए । मोतिहारीसम्म औषधिको ट्रक चढेर आएका उनी हिँडेरै आएका थिए । उनी १६ चैतको मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेका थिए । घरपरिवारको सल्लाहमा उनी इशनाथ नगरपालिका वडा नम्बर ३ मा रहेको जनता उच्च माविको क्वारेन्टाइनमा बसको थिए । जनकपुरबाट आएको टोलीले क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगेका थियो, त्यसमध्ये उनमा संक्रमण देखिएको थियो । संक्रमित युवकलाई उपचारका लागि हिजो (सोमबार) साँझ वीरगन्ज ल्याइएको छ ।
सोमबार (हिजो) नै कारोनाको र्‍यापिड टेस्टमा तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । बेलायतबाट फर्केर काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका उनीहरुमा र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि कोरोना परीक्षणका लागि पठाइएको छ ।
पाटन अस्पतालका कोरोना फोकल पर्सन डा. आशिष श्रेष्ठका अनुसार उनीहरु तीन जनाकै र्‍यापिड टेस्ट पोजिटिभ देखिएको हो । उनीहरु तीनैजना पाटन अस्पतालमा भर्ना भएको जनाइएको छ । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्दा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन् ।
अपार्टमेन्टमा बस्ने तीन जनालाई र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि अपार्टमेन्टलाई नै लक डाउन गरिएको छ । अपार्टमेन्टलाई प्रहरीले घेरा हालेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*