मकवानपुरगढीमा १७ जनाको र्यापीड टेस्ट, सबैको रिर्पोट नेगेटिभ

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १७ जनामा गरिएको र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा सबैको रिर्पोट नेगेटिभ आएको छ । गत चैत महिना भर गाउँपालिकामा विभिन्न देशबाट फर्किएका व्यक्तिमा गरिएको परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको हो ।
गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी वडा वडामा पुगेर र्यापीड टेस्ट गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख विदुरप्रसाद लामिछानेले जानकारी दिए ।
चैत महिनामा दुबई, मलेसिया, साउदी लगायतका देशबाट फर्किएर व्यक्ति खोजी गर्दै परिक्षण गरिएको पालिकाका स्वास्थ्यकर्मी रमिला घलानले जानकारी दिइन् ।
परिक्षणमा गाउँपालिकाका ल्याब असिस्टेन्ट, स्वास्थ्यकर्मी कौशल्या धमला लगायतको सहभागिता रहेको थियो ।
विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरसको जोखिमबाट बच्नका लागि विदेशबाट फर्किएका नागरिक पहिचान गर्दै उनीहरुको र्यापीड टेस्ट गर्ने कार्य गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको भनाई छ । उनका अनुसार कोभिड १९ विरुदद्को लडाईमा गाउँपालिकाकाले कोष नै बनाएर योजनाबद्द रुपमा कार्य गरिरहेको छ ।