स्थानीय तहलाई इन्सेक बागमती प्रदेशको स्वास्थ्य सामग्री सहयोग
मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालाई कोरोना भाइरस ९कोभिड १९० को रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
इन्सेकको कार्य क्षेत्र रहेको यि दुई स्थानीय तहहरुमा विहिबार स्वास्थ्य सामग्रीहरु थर्मल गन, पञ्जा, सेनिटाइजर, सर्जिकल मास्क सहयोग गरेको हो ।
हेटौँडा उपमाहानगरपालिका उपप्रमुख मिनाकुमारी लामालाई इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । इन्सेकले हेटौंडा उपमहानगरपालिकालाई तीन ओटा थर्मल गन, २ सय जोर पञ्जा, २ सय जोर सर्जिकल माक्स र दुई लिटर स्यानिटाइजर सहयोग गरिएको प्रदेश संयोजक गौतमले बताए ।
हेटौंडा उपमहानगरपालिकामा विगत एक वर्षदेखि इन्सेकको इएलपी परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सुनिश्चितताको लागि यो परियोजना सञ्चालित छ । सोही परियोजना अन्तरगत गठित नगरस्तरीय मानव अधिकार समूहले र मनहरी गाउँपालिका स्तरीय मानव अधिकार समूहले आ–आफ्नो स्थानीय तहहरुमा आधारभूत स्वास्थ्य सेवा प्रदानको लागि केही स्वास्थ्य सामग्री आवश्यक भएकोले इन्सेकसँग माग गरेपछि नगरपालिकाको समन्वयमा सेवा प्रदायक निकायसम्म पुग्ने गरी सामग्री सहयोग गरिएको बागमती प्रदेश कार्यालयले जनाएको छ ।
कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सुपेन्द्र कार्की, जिन्सि शाखा प्रमुख विनोद सुबेदी, इन्सेक बागमती प्रदेश कार्याक्रम संयोजक गणेश भण्डारी, हेटौँडा उपमहानगरपालिका स्तरीय मानव अधिकार समूहको संयोजक चन्द्रवति पनेरू, उपसंयोजक किरण लामिछानेलगायतको उपस्थिती रहेको थियो ।
यसैबीच, जिल्लाको मनहरी गाउँपालिकालाई पनि इन्सेकले दुई थान थर्मल गन, २ सय जोर पञ्जा, २ सय जोर सर्जिकल माक्स र दुई लिटर स्यानिटाइजर सहयोग गरिएको इन्सेक बागमति प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले बताए । गाउँपालिका उपाध्यक्ष मनिला विष्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामग्री प्राप्त भएपछि हेटौंडा उपमहानगरपालिका उपप्रमुख लामाले बजारमा स्वास्थ्य सामग्रीहरु किन्नै समस्या भएको बेलामा इन्सेकले गरेको सहयोग धेरै महत्वपूर्ण भएको बताए । यसैगरी गाउँपालिका उपप्रमुख विष्टले इन्सेक र गाउँपालिकाको आपसी समन्वयले माहामारी रोकथाममा बल पुग्ने बताए ।
यसैगरी चितवनको चितवनको खैरहनी र राप्ती नगरपालिकालाई पनि इन्सेकले स्वास्थ्य सामग्री सहयोग गरिएको छ । यसैगरी इन्सेक प्रदेश संयोजक कृष्ण गौतम र प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले चितवनको खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीलाई सहयोग हस्तान्तरण गरेका थिए । सबैगरपालिकालाई दुई ओटा थर्मल गन, दुई सय जोर पञ्जा, सर्जिकल माक्स दुई सय थान र स्यानिटाइजर सहयोग गरिएको हो ।
कार्यक्रममा खैरहनी नगर उपप्रमुख सुनिता खरेल थपलिया, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, मानव अधिकार समूह खैरहनीका संयोजक विष्णुप्रसाद बास्कोटाको उपस्थिति रहेको थियो ।
सहयोग हस्तान्तरण गर्दै इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले आगामी दिनमा पनि सहयोगको लागि इन्सेक तयार रहेको बताए । खैरहनी नगर प्रमुख लालमणी चौधरीले इन्सेकले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै नगरपालिका र इन्सेक बीच समन्वयात्मक ढङ्गले काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
राप्ती नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख प्रभा बराल, नगर उपप्रमुख ईमान सिं लामा, नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक राममणी सिलवाल, मानव अधिकार समूह राप्तीका संयोजक चन्द्रदेवी तामाङ, उप संयोजक मित्र पोखरेललगायतको उपस्थिति थियो ।