सरकारले ल्याएका नीति तथा कार्यक्रममा यस्ता छन् रोजगारीका योजना

लोकखबर
३ जेष्ठ २०७७, शनिबार ०६:१७

मकवानपुर। सरकारले ल्याएका नीति तथा कार्यक्रम यस्ता छन्
–दक्ष श्रमिक,कामको सम्मान, स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापन यस सरकारको प्रमुख श्रम नीति हुनेछ । स्वस्थ नागरिक, गुण र प्रविधिमा आधारित शिक्षा, उत्पादनमैत्री वित्तीय प्रणाली र उद्यमशील वातावरण रोजगारीका आधारस्तम्भ हुन् । यी आधारस्तम्भहरूको विकास र सदुपयोग गरेर सरकारले व्यापक रोजगारीका अवसर सिर्जना गर्नेछ ।
–पर्याप्त आन्तरिक रोजगारी भई नसकेको अवस्थामा कोभिड–१९ को विश्वव्यापी महामारीले स्वदेशको रोजगारी सङ्चित हुने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू फर्किने सम्भावित परिस्थितिले बेरोजगारको संख्या बढ्ने जोखिम देखिएको छ । वेरोजगारहरूको सम्भावितलाई व्यावसायिक कृषि, बृहत् भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माणर सेवा क्षेत्रमा परिचालन गरिनेछ ।
–सीपयुक्त र दक्ष श्रमिकहरूको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र श्रम तथा सीप विकाससम्बन्धी सबै निकायका कार्यक्रमहरूलाई एकीकृत रूपमा परिचालन गरिनेछ । आवश्यकताअनुसार सबै स्थानीय तहमा छोटो अवधिका घुम्ती तालिम सञ्चालन गरिनेछ ।
–नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र बैदेशिक रोजगारबाट फर्केका अनुभवी तथा सीपयुक्त उद्यमशील युवाहरूलाई उद्यम व्यवसाय सुरु गर्न सुरुवाती पुँजी उपलब्ध गराइनेछ । उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणका कार्यक्रमसँग आबद्द गराइनेछ । यसका लागि हाल सञ्चालित कार्यक्रमहरूलाई पुनःसंरचना गरी सबै प्रदेशमा विस्तार गरिनेछ ।
–शिक्षित बेरोजगार युवाहरूलाई शैक्षिक प्रमाणपत्रको आधारमा प्रोजेक्टमा आधारित सुरुवाती पुँजी उपलब्ध गराई भरसक निजको शिक्षासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न प्रोजेक्ट निर्माणमा समेत सहयोग गरी उत्प्रेरित गरिनेछ ।
–प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त दक्ष जनशक्ति, रोजगारीको क्षेत्र र रोजगारसम्बन्धी अन्य कार्यक्रमहरूसँग आबद्ध गरी यथार्थ उत्पादनमूलक रोजगारी सिर्जना गर्ने बेरोजगार लक्षित अभियानको रूपमा कार्यान्वयन गरिनेछ ।

–सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना र रोजगार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ । यस प्रणालीलाई थप विकसित गर्दै श्रमबजारमा रहेका श्रमिकहरूको सीप र क्षमताको उपयोग गर्न सहज हुने गरी उनीहरूको व्यक्तिगत विवरण रहेको श्रम सूचना बैङ्क स्थापना गरिनेछ । स्थानीय रोजगार सेवा केन्द्रले रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरूका बीच सम्पर्क स्थापित गरी रोजगारी प्राप्तिमा सहयोग गर्नेछ ।
–रोजगारदाता र श्रमिक संगठनबीचअ सल श्रम सम्बन्ध विकास गरिनेछ । श्रम निरीक्षण प्रणालीमार्फत् श्रम अडिटलाई थप व्यवस्थित गरिनेछ । सबै प्रकृतिका श्रम शोषण अन्त्य गरिनेछ ।
–सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउनका लागि सरकारका विभिन्न तह र निकायबाट सञ्चालित सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरूलाई एकीकृत रूपमा कार्यान्वयनमा ल्याइनेछ ।
–योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरी सामाजिक सुरक्षालाई दिगो बनाइनेछ । अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारमा गएका श्रमिकलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्द गरिनेछ ।
–आफ्नो हेरचाह आफैँ गर्न नसक्ने वा श्रम गर्न नसक्ने अशक्त तथा असहाय, अपांगता भएका व्यक्ति, महिला, बालबालिका र लोपोन्मुख जातिका नागरिकहरूको पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गरिनेछ ।
–देशमा विद्यमान गरिबीको स्थिति मापन गरी गरिबी अन्त्यका लागि सरकारले रोजगारीको व्यवस्था र आय आर्जनका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछ । अब नेपालमा गरिबीको कारणले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ । योसरकारको प्रतिबद्दता हो ।
–विभिन्न कार्यक्रम तथा आयोजनाहरूमार्फत् समुदायस्तरका समूहहरूलाई उपलब्ध गराएको पुँजी रकम र समूहहरूले गरेको बचत रकमको लगत स्थानीय तहबाट अद्यावधिक गरी सो रकम रोजगारी सिर्जना,आय आर्जन र उत्पादनमूलक कार्यमा परिचालन गरिनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*