अन्तरजातिय प्रेम सम्बन्धले लियो ज्यान
मकवानपुर । नेपाल जातिय छुवाछुत मुक्त देश भएको लामो समय भयो । तर रुकुममा एक दलित युवकले माथिल्लो जातसंगको प्रेम विवाह गर्न लाग्दा दुखद मृत्युवरण गर्दा देशमा जे जे मुक्त गरेपनि मानिसमा चेतनास्तर कुन अवस्थामा छ भन्ने पुष्टि गरेको छ ।
अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण रुकुममा दुईजनाको ज्यान गएको छ भने चारजना बेपत्ता भएका छन् ।
शनिबार राति जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर रुकुमको चौरजहारी नगरपालिका-८ सोती पुगेका थिए । तर उनीहरु गाउँमा पुगेलगत्तै केटी पक्षका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेका थिए । गाउँलेहरुको आक्रमणमा प्रेमिका लिन पुगेका नवराज विकसहित दुईजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । मृत्यु भएका दुवैजनाको शव भेरी नदी किनारमा भेटिएको थियो । दुवै शव पोष्टमार्टमका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराजसहितको समूह उनलाई लिन सोती पुगेको जनाइएको छ ।
घटनामा केटी पक्षका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । मृतक परिवारको जाहेरीका आधारमा थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।