सुनील मोक्तानको सहयोगमा नेकपा, हेटौंडा १५ नम्बर वडा कमिटीद्वारा राहत वितरण

लोकखबर
३१ जेष्ठ २०७७, शनिबार ०९:५७

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ वडा कमिटिीको आयोजनामा वडाका ७१ जना विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको छ ।

लक डाउनको कारण दैनिक गुजारा चलाउन समस्या भोगिरहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, कमाने र भोर्लेका अति विपन्न परिवारलाई नेकपा मकवानपुर जिल्ला कमिटी सदस्य सुनील मोक्तानको सहयोगमा शुक्रबार पन्ध्र–पन्ध्र किलोका दरले राहत स्वरुप चामल वितरण गरिएको हो ।

राहत हस्तान्तरण कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य लीलाकुमार घलान, साविक चुरियामाई गाविस पूर्व अध्यक्ष इन्द्रमान स्याङतान, प्रेमबहादुर भोम्जन, पार्टी नगर कमिटी सदस्य पदमबहादुर लो, वडा सदस्य दीपेश थिङ, वडा सचिव गिताप्रसाद दुलालको आतिथ्यता रहेको थियो । यस्तै, जनप्रतिनिधीहरु पर्सबहादुर भुजेल, कुमारी श्रेष्ठ, मिनु विश्वकर्मा तथा स्थानीय युवाहरुको सक्रिय उपस्थितीमा राहत वितरण कार्यक्रम गरिएको हो ।

हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष समेत रहेका युवा नेता मोक्तानले लक डाउनको पीडामा रहेका अति विपन्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का विभिन्न टोलमा यसअघि पनि राहत स्वरुप खाद्यान्न सहयोग गरिसकेका छन् । वडाका जन प्रतिनिधी एवं सामाजिक अगुवाको रोहबरमा सहयोग कार्य गर्दै आइरहेका उनी लक डाउनका कारण विहान बेलुकाको छाक टार्नै समस्या भइरहेकाहरुलाई सहज होस् भन्नका लागि आफूले खाद्यान्न सहयोग गरेको बताउँछन् ।

विपद्को घडीमा सबै ठाउँमा सरकार पुग्न नसक्ने भएकाले पीडामा परेकालाई तत्कालै राहत होस् भन्ने सोचले यो पटक नेकपा, हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा कमिटिीको आयोजनामा आफूले राहत सहयोग गरेको बताए ।

विश्वव्यापी रुपमा मानव जातिलाई सताइरहेको विपद्मा पार्टीमार्फत आफूले सकेको सहयोग गरेको नेता मोक्तानको भनाई छ ।
आफूले जीवनको २६/२७ वर्ष राजनीतिक तथा सामाजिक अभियानमा बिताएको र जीवनै दिन दुःखी तथा असहायलाई सहयोग पुग्ने गरी सामाजिक कार्य गर्दै बिताउने आफ्नो सोच रहेकाले सकेको दान गर्नुपर्छ भन्ने आफूलाई लागेको उनी बताउँछन् ।

युवा नेता मोक्तानले आफ्नो जन्म दिनका अवसरमा हेटौंडा १५ रातोमाटेस्थित दिव्यसेवा ज्येष्ठ नागरिक आश्रयमा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ्यका लागि आर्थिक सहयोग गर्दै आइरहेका छन् भने छोरा सक्सेसको जन्म दिनको अवसरमा चुरियामाई उमाविका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आइरहेका छन् ।

हेटौंडा अस्पतालमा सफल र इमान्दार नेतृत्व भूमिका निर्वाह गरी स्याबासी पाएका युवा नेता मोक्तानले विभिन्न सामाजिक संघसंस्थामा आबद्द रही आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला कमिटि सदस्यका साथै पार्टीको युवा सह इन्चार्ज, नेपाल तामाङ घेदुङको संघीय सदस्य, चुरियामाई उच्च मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र नेपाल सितोरियो कराँते मकवानपुरको अध्यक्षको भूमिकामा रही आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*