अटोवाला भन्छन्,‘बैंकको किस्ता तिर्नै सकेनौं’
मकवानपुर । लक डाउनका कारण आफूहरु समस्यामा परेको मकवानपुरका अटो चालकहरुले गुनासो गरेका छन् ।
बैंकबाट ऋण लिई स्वरोजगार बन्ने प्रयासमा रहेका अटोवाला बैंकबाट किस्ता तिर्न ताकेता आउँन थालेपछि समस्यामा परेको बताउँछन् । ५ देखि ७ लाख रुपिया सम्म पर्ने अटो किस्तामा लिएर मासिक चौध हजार भन्दा बढी किस्ता तिर्दै आइरहेकाहरु अहिले लक डाउनमा सवारी चलाउँन नपाउँदा आम्दानी नभएकोमा चिन्तित छन् ।
हेटौंडा ८ कमानेका विकास गौतमले एक लाख ८० हजार डिपोजिट गरेर दुई वर्ष अघि अटो लिएका थिए । यसअघि हरेक महिना उनले चौध हजार मासिक किस्ता तिर्दै आएको भएपनि लक डाउनका कारण आम्दानी नभएको र किस्ता तिर्न पनि समस्या परेको बताए । अटोमा लगानी गरी आफैं त्यसको चालक बनेकाहरु स्वरोजगार यातायात मजदुर संघ, हेटौंडा प्रा.लि. मा आबद्द भएर मासिक दुई हजार पाँच सय रुपैंया तिर्दै आएका छन् । त्यसबाट दुर्घटनामा परेको बेलामा बीमा बापतको रकम पाउने गरेका छन् ।
लक डाउन अघि दैनिक दुई सय रुपैंयासम्म बचत गर्न सकेका अटो चालकहरु अहिले दैनिक हजार रुपैंया भन्दा कम आम्दानी हुने गरेको दुखेसो गर्छन् । दैनिक कमाई पनि पेट्रोल तथा मर्मतमा खर्च गर्नु परेपछि अटो खरिद गरेको किस्ता तत्काल तिर्न आफूहरुले नसक्ने उनीहरुको भनाई छ ।
हेटौंडाको हटिया, चिसापानीका राम खड्का आफूले अटो चलाएरै बैंकमा किस्ता तिर्नुपर्ने भएकाले बैंकमा किस्ता तत्काल तिर्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘हामी किस्ता तिर्न तयार छौं । तर अहिले आम्दानी नभएको बेलामा कसरी तिर्ने ?’ उनी भन्छन्,‘ हामीलाई तत्काल होइन किस्ता बुझाउने समय सारिनुपर्छ ।’