रहिनन् कम्युनिष्ट आन्दोलनकी आमा
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीकी अभिभावक, कम्युनिष्ट आन्दोलनकी आमा भनेर चिनिएकी मकवानपुरे नेतृ बालकुमारी थापाको निधन भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर, हटिया राजदेवीकी ७६ वर्षिया थापाको गएराती मृत्यु भएको हो ।
मकवानपुरमा रहेर कम्युनिष्ट पार्टीलाई साथ दिएकी थापाको हेटौंडा अस्पतालमा निधन भएको हो । थापाको निधनले नेकपा मकवानपुरलाई क्षति पुगेको पार्टी नेताहरुले बताएका छन् ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले कम्युनिष्ट आन्दोलनकी अभिभावक थापाको निधनले आफूलाई दुःखी बनाएको बताइन् । मकवानपुरमा कम्युनिष्ट आन्दोलनमा उनको योगदान अतुलनीय रहेको नेता सिग्देलले उल्लेख गरिन् ।
मुटु रोगबाट पिडित बनेपछि थापा उनी विगत पन्ध्र वर्षदेखि ओछ्यानमा थलिएकी थिइन् । मुटुमा थप समस्या आएपछि उनलाई अस्पतालमा ल्याइएको थियो ।
मकवानपुरमा कम्युनिष्ट आन्दोलनमा भूमिका निर्वाह गरेकी थापाले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालिन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रीत, विद्यादेवी भण्डारी, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदिप नेपाल लगायत नेतालाई आश्रय दिएकी थिइन् ।