बिहीबारसम्मै पानी पर्ने, कुन-कुन नदीमा छ बाढीको सम्भावना ?

लोकखबर
६ श्रावण २०७७, मंगलवार १७:५१

काठमाडौं । आइतबारदेखि लगातार परेको वर्षापछि मुलुकका विभिन्न ठाउँमा बाढीपहिरो आएको छ । बाढीपहिरोका कारण पृथ्वी राजमार्ग, पूर्व-पश्चिम राजमार्गका केही ठाउँ, सिद्धार्थ राजमार्ग र ग्रामीण सडकहरु क्षतविक्षत भएका छन् ।  जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि विभिन्न नदीहरुमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ ।

मंगलबार नारायणी र यसका सहायक नदीहरुमा जलसतह उच्च हुँदा नवलपरासीको सुस्ता र आसपासका क्षेत्र डुबानको उच्च जोखिममा रहेको महाशाखाले बताएको छ । त्यसैगरी मंगलबार बिहानको मापनअनुसार गण्डक ब्यारेजमा पनि नारायणी नदीले खतराको सूचक नाघेको छ । पानीको बहाव उच्च भएपछि ब्यारेजका ३६ वटै ढोका खोलिएको छ ।

त्यस्तै वाग्मती र यसका सहायक नदीहरुमा पनि बाढीको उच्च जोखिम रहेको छ । सप्तकोसीमा पनि पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । त्यसैगरी कन्काई, कमला, वाग्मती, पश्चिम राप्तीका सहायक नदीमा आकस्मिक बहाव भएर खतराआसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ त्यसैगरी पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा प्रदेश २ का सबै जिल्ला भई बहने साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको छ ।

त्यस्तै काठमाडौं उपत्यका, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोटलगायतका जिल्लाका साना नदीहरुमा पनि बाढीको सम्भावना रहेको छ । त्यस्तै गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, चितवन र प्रदेश ५ का केही जिल्ला र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्ला भई बहने साना नदीहरुमा पनि आकस्मिक बहावको खतरा रहेको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि भने कोसी र नारायणी नदीमा पानीको बहाव घट्नेछ । तर सतर्कता तहआसपास नै हुने भएकाले त्यस क्षेत्रका नागरिकलाई उच्च सुतर्कता अपनाउन आग्रह गरिएको छ । बुधबार कर्णाली र महाकाली नदीमा पनि बहाव बढ्ने र सतर्कता तहभन्दा केही मात्र तल हुने पूर्वानुमान महाशाखाले गरेको छ । त्यस्तै बुधबार कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई, तिनाउलगायतका नदीमा पनि बहाव बढ्ने र सतर्कता आसपास हुने पूर्वानुमान छ ।

यीमध्ये केही नदीमा बुधबार भने आकस्मिक बहावको खतरा रहेको महाशाखाको अनुमान रहेको छ । बुधबार प्रदेश एक, प्रदेश दुई, वाग्मती र गण्डकी प्रदेशको मध्यपहाडी, चुरे र तराई क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र सतर्कता आसपास हुने छ । प्रदेश १ र २ को मध्यपहाडी, चुरे र तराईबाट बहने केही साना नदीहरुमा भने बहाव खतरा तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

त्यसैगरी बिहीबार पनि कन्काई, कमला र वाग्मतीका सहायक नदीमा पनि बहाव खतरा आसपाससम्म पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ । त्यस्तै प्रदेश २ र वाग्मती प्रदेशका स–साना नदीमा बहाव खतरा आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ ।

अझै तीन दिन वर्षा हुने र बाढीको उच्च जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै बिहीबारसम्म मुलुकमा विभिन्न ठाउँमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । केही दिनयता परेको भीषण वर्षाका कारण जमिनको सतह भित्रभित्रै भिजेका कारण पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

इकान्तिपुर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*