बंगुरपालनले सहज बनायो जीवनयापन

जी. न्यौपाने
८ श्रावण २०७७, बिहीबार १५:१७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, थानाभर्‍याङ्स्थित सिमलटारका सुन्दर श्रेष्ठ यतिखेर बंगुरपालनमा रमाइरहेका छन् । सुन्दर पशुपन्क्षी फार्म दर्ता गरी चालिस वटा साना–ठूला बंगुर उनले पालेका छन् । यतिमात्र होइन फार्मभित्र एउटा पानी पोखरी निर्माण गरेर करिब दुई हजार माहुर जातका माछा हुर्काइरहेका छन् । उनले एक परिवारलाई बाससहितको रोजगारी समेत प्रदान गरेका छन् । थानाभर्‍याङमा वि.सं.२०६१ सालमा उनले होटल व्यवसाय गरेका थिए । होटल व्यवसाय गदैगर्दा उनकी आमा अष्टमाया श्रेष्ठले छिमेकी विकास बैंकबाट ऋण लिएर तीन वटा बंगुर खरिद गरी बंगुरपालन व्यवसाय सुरु गरेकी थिइन् । त्यतिखेर सुन्दर भने गाडी चलाउने काम गर्थे । गाडी चलाउँदा चलाउँदै उनी वैदेशिक रोजगारीका लागि कतार गए । सुन्दर कतारमै हुँदा उनको बाबुको मृत्यु भयो । बाबुको मृत्यु भएको पीडादायी खबर सुनेका सुन्दर तत्कालै घर आउँन पाएनन् । उनी काम गरिरहेको कम्पनिले घर फिर्नका लागि उनलाई अनुमति दिएन । आफ्नो बाबुको निधन भएको पीडादायी अवस्थामा आफ्नो घर आउँन नपाउँदा उनी निकै दुः खी बने । दुई वर्षको कार्य अवधि पूरा गरेपछि उनी नेपाल फर्किए ।

आफ्नो घर आइपुगेका सुन्दरले आमाले गरिरहेको बंगुर पालन पेशामा आफ्नो भविष्य देख्न थाले । र, उनले लगानी गरी बंगुपालन सुरु गरे । उनको बंगुर फार्ममा यतिबेला ४० वटा बंगुर छन् । उनले आफ्नो फार्ममा ६० वटासम्म बंगुर पालन गरे । बंगुर पालन गर्दा केही असजिलो पाटाहरु भएपनि उनले आफ्नो पेशालाई इमान्दारीपूर्व भूमिका निर्वाह गरिरहे । बंगुर, त्यसका पाठापाठी बिक्रीबाट सुन्दरले महिनामा एक देखि डेढ लाख रुपियासम्म आम्दानी गर्न सकेका छन् । कुनै बेला विविध समस्याका कारण सोचेजस्तो आम्दानी हुन नसकेपनि उनले बंगुरपालनबाट आफ्नो आर्थिक अवस्था मजबुत बनाउँदै लगेका छन् । आफ्नो घरपरिवार चलाउँनेदेखि सम्पति जोड्का लागि यही पेशाले उनलाई साथ दिइरहेको छ । अहिले बंगुर पालन व्यवसाग आफ्नो घरमै बसेर गर्न पाउँदा उनलाई खुशी लागेको छ ।
आफ्नै लगानी तथा प्रयासबाट स्वरोजगार बनेका भएपनि सरकारका तर्फबाट आवश्यक अनुदान लगायतका सहयोग नपाएकोमा उनले गुनासो गरे । ‘सरकारले हामीले गरिरहेको काम हेरेर अनुदान अथवा आवश्यक सहयोग गरे हुन्थ्यो भन्ने लाग्छ । तर अहिलेसम्म सरकारले हामीलाई केही सहयोग गरेको छैन ।’ सुन्दरको गुनासो छ ।

यस्तै, सिमलटारकै अस्मिता बंगुर प्रजनन् फार्मका संचालिका सावित्री गोङ्बा बंगुरपालनले जीवनयापन सहज भएको बताउँछिन् । उनको फार्ममा साना ठूला गरेर ३२ वटा बंगुरहरु छन् । यस्तै, गोङ्बा फार्ममा पनि साना ठूला गरेर पन्ध्र–सोह्र वटा बंगुर छन् । फार्मका संचालक पाल्देन गोङ्बा भन्छन्,‘ यो पेशामा आबद्द भएको १६ वर्ष भयो । विगत दुई वर्षदेखि त जागिरै छाडेर बंगुरपालनमा लागिपरेको छु ।’
अर्का किसान विनोद लामा पनि यसै पेशामा छन् । उनको फार्ममा पनि पन्ध्र–सोह्र वटा बंगुरहरु छन् । थोरै भएकाले वरपरका होटलबाट उग्रेको खानाबाट दाना पुगेको छ । आफ्नो आम्दानीबाट उनको घरखर्च चलेको छ । यस्तै, तल्लो थानाभर्याङ्का एलिना बंगुर फार्मका संचालक सूर्यबहादुर थिङ यो पेशमा सहजता देख्छन् । उनका फार्ममा करिब ४० वटा बंगुर छन् । थोरै मेहनत गरे यो पेशाबाट मनग्ये आम्दानी गर्न सकिने उनको धारणा छ ।

बंगुर पालकहरुले सिमलटारमा एउटा आफ्नो पेशालाई थप व्यवसायिक तथा व्यवस्थित बनाउन समूह नै निर्माण गरेर अघि बढेका छन् । स्वरोजगार बंगुर पालक कृषक समूह निर्माण गरी उनीहरु यो पेशालाई अघि बढाउन लागिपरेका हुन् । यो समूहमा बंगुर पालक कृषकहरुको छाता संस्था नै बनेको छ । समूहमा ३० वटा फार्म आबद्द भएका छन् । उनीहरुले समूहमार्फत नै दाना मिल तथा मासु सप्लायर्स समेत संचालनमा ल्याएका छन् । हेटौंडा ११ का वडाध्यक्ष गोकर्णप्रसाद पराजुलीले दाना मिल तथा मासु सप्लायर्सको केही दिनअघि उद्घाटन गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*