सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

अब बस्‍ने मन्त्रिपरिषद्ले एक जनालाई सचिवमा बढुवा गर्ने
लोकखबर
११ श्रावण २०७७, आईतवार २०:४७

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मधु मरासिनिको नाम सिफारिस गरेको हो ।

तीनमध्ये सहसचिव दुवाडी यसअघिको दुई पटकको सिफारिसमा पहिलो नम्बरमा थिए । उनीभन्दा वरिष्ठ सहसचिव श्रेष्ठले भ्रष्ट्राचारसम्बन्धी मुद्दामा हालै सफाइ पाएपछि उनको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको आयोग स्रोतले बतायो ।

विशेष अदालतबाट मुद्दा जितेपछि गत साता मन्त्रिपरिषद् कार्यालयले उनको निलम्बन फुकुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको थियो ।

श्रेष्ठको निलम्बन फुकुवाको भोलिपल्ट बसेको बढुवा सिफारिस समितिको बैठकले श्रेष्ठको नाम पहिलो नम्बरमा राखेर सिफारिसमा गरेको हो । वरिष्ठ सहसचिवहरुमध्येबाटै सचिव बढुवा सिफारिस गर्नुपर्ने कानुनी प्रावधानअनुसार उनी पहिलो नम्बरमा परेका हुन् ।

सञ्‍चार मन्त्रालयमा कार्यरत दुवाडीको नाम यो पटक दोस्रो नम्बरमा परेको छ । सहसचिव श्रेष्ठविरुद्ध एक करोड ३४ लाख ५ सय ७६ रुपैयाँ ७६ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ को पुसमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यसअघि बढुवा सिफारिस समितिले पहिलो नम्बरमा राखेर सिफारिस गरेका सहसचिवलाई सचिवमा बढुवा गर्ने गरे पनि मन्त्रिपरिषद्ले केही समययता सिफारिसमा परेका क्रमसंख्याभन्दा बाहिर गएर बढुवा गर्दै आएको छ ।

‘एकदेखि तीन नम्बरसम्मका जोसुकैलाई सरकारले सचिवमा बढुवा गर्न सक्छ,’ आयोग स्रोतले भन्यो, ‘हामीले आफ्नो जिम्मेवारी पूरा गर्‍यौं ।’ यसअघि सचिवका लागि दुवाडीको नाम दुई पटक पहिलो नम्बरमा राखेर सिफारिस भएको थियो । समितिले दुवाडीको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेपनि मन्त्रिपरिषद्ले दोस्रो नम्बरका मानबहादुर बिकेलाई सचिवमा बढुवा गरेको थियो । बीके वाग्मती प्रदेशको प्रमुख सचिवमा पदस्थापन भइसकेका छन् ।

अहिले दोस्रो नम्बरमा सिफारिसमा परेका दुवाडी र तेस्रो नम्बरमा सिफारिस भएका मरासिनीमध्ये जोसुकै सचिवमा बढुवा हुन सक्ने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । यसअघि जेठमा पनि दुवाडी पहिलो, मानबहादुर बिके दोस्रो र विष्णुप्रसाद नेपालको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो । तर, सरकारले तेस्रो नम्बरका नेपाललाई सचिवमा बढुवा गरेको थियो । उनको गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भइसकको छ । इकान्तिपुरबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*