भारतमा दैनिक ४५ हजारभन्दा धेरै कोरोना संक्रमित थपिँदै

मकवानपुर । भारतमा केही दिन यता कोरोना संक्रमणको ग्राफ तीव्र गतिमा उकालो लागेको छ । पछिल्लो छ दिन यता दैनिक ४५ हजारभन्दा धेरैका दरले कोरोना संक्रमित थपिरहेका छन् ।
साउन ८ गते ४५ हजार ७२०, ९ गते ४९ हजार ३१०, साउन १० गते ४८ हजार ९१६, ११ गते ४८ हजार ६६१, १२ गते ४९ हजार ९३१ र १३ गते (हिजो) ४७ हजार ७०३ कोरोना संक्रमित थपिरहेका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ८३ हजार १५६ पुगेको छ ।
हालसम्म भारतमा कोरोना संक्रमणका कारण ३३ हजार ४२५ को मृत्यु भइसकेको छ । सोमबार मात्रै ६५४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।
भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ५० हजार ८०५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ६३ लाख ४१ हजार ९२० पुगेको छ ।
लकडाउन अन्त्य भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । बाह्रखरी डटकमबाट