नेकपा रडाको : ४० प्रतिशत केन्द्रीय सदस्यले बैठकको माग गर्दै हस्ताक्षर बुझाउँदै

लोकखबर
१४ श्रावण २०७७, बुधबार १३:५५

मकवानपुर । नेकपाका ४० प्रतिशत केन्द्रीय सदस्यले बैठकको माग गर्दै हस्ताक्षर बुझाउँदै छन् ।

बुधबार दिउँसो ४ बजे महासचिव विष्णु पौडेललाई बैठकको मागसहित हस्ताक्षर बुझाउने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरले जानकारी दिए ।

“हामी छलफलमा छौं । चार बजे पार्टी कार्यालयमा हस्ताक्षर बुझाउने तयारी छ,” गैरेले बाह्रखरीसँग भने । केन्द्रीय सदस्य नीरज आचार्यले महासचिवसँग समय माग गरिएको जानकारी दिए ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको हस्ताक्षरकर्ताहरूले बताएका छन् । स्थायी कमिटीले विवाद सल्ट्याउन नसकेपछि र आफैं विभाजित भएपछि समस्या समाधानका लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनीहरूले बताएका छन् ।

केन्द्रीय कमिटीका सदस्यहरूले केही दिनअघि जुम मिटिङमार्फत छलफल गरेर बैठक माग गर्ने निष्कर्षमा पुगेका थिए । उपत्यकाबाहिर रहेका केन्द्रीय सदस्यहरूसँग इमेलमार्फत हस्ताक्षर मगाएका थिए ।

बैठक बोलाउन आवश्यक हस्ताक्षर जुटिसकेको भए पनि विवाद मत्थर भएकाले बुझाएका थिएनन् । मंगलबार पुनः विवाद उत्कर्षमा पुगेपछि बैठक अनिवार्य भएको र विधानतः बैठक बस्ने समय पनि भएको गैरेको भनाइ छ ।

नेकपाको विधानको धारा ५९ ९४० अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक पन्ध्र दिनभित्र बोलाउनुपर्ने छ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटमा बैठक बोलाउन १ सय १० जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ । त्यति हस्ताक्षर जुटिसकेको गैरेको भनाइ छ ।

नेकपाको केन्द्रीय कमिटीको बैठक गत माघ १५ गतेदेखि १९ गतेसम्म बसेको थियो । विधानको धारा ५९ (१)अनुसार केन्द्रीय कमिटीको बैठक छ–छ महिनामा बस्नुपर्नेछ ।

जारी स्थायी कमिटी बैठक पनि सदस्यहरूले माग गरेरै बोलाइएको हो । अध्यादेश प्रकरणपछि वैशाख १० गते स्थायी कमिटीका २० जना सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका थिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*