भारतलाई जवाफ: कालापानी लिम्पियाधुरा नेपालको हो, नेपाली रोकिँदैनन्
मकवानपुर । केही हप्ताअघि भारतले नेपालीलाई कालापानी, लिम्पियाधुरा क्षेत्र प्रवेशमा रोक लगाउन भन्दै पत्र लेखेपछि नेपालले त्यसको जवाफ फर्काएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलवार पत्रको जवाफ फर्काएको हो ।
धार्चुलाबाट गुन्जी, कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको भन्दै त्यसमा रोक लगाउन भन्दै धार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको थियो ।
जिप्रका दार्चुलाले गुन्जी, कालापानी, लिम्यियाधुरा लगायत क्षेत्र नेपालका भू–भाग भएकाले नेपालीहरुको आवतजावत स्वभाविक भएको बताएको छ ।
सन् १८१६ को सुगौली सन्धीको धारा ५ र त्यस चरणमा प्रकाशित नक्सा एवम् तथ्य प्रमाणहरुका आधारमा कालीनदी र लिम्पियाधुरा नेपालको भएको पत्रमा लेखिएको छ ।
‘सन् १८१६ मा सम्पन्न सुगौली सन्धीको धारा ५ र त्यस चरणमा प्रकाशित नक्सा एवम् तथ्य प्रमाणहरूका अनुसार कालीनदी र लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, कालापानी, लिपुलेक लगायतका क्षेत्र नेपालको भू–भाग रहेको कुरा प्रष्ट नै छ,’ भारतलाई पठाइएको पत्रमा लेखिएको छ, उल्लेखित भू–भाग नेपाली भएको हुँदा नेपालीहरूको आवतजावत हुनु स्वभाविक नै रहेको र त्यसमा कुनै बाधा अड्चन हुनुहुँदैन भन्ने नेपाल सरकारको धारणा रहेको जानकारी गराइन्छ ।’
गत नोभेम्बरमा भारतले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच विवाद शुरु भएको थियो । त्यसपछि सरकारले नेपालको कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर जेठ ७ मा नयाँ नक्सा जारी गरेको थियो ।खबरहब डटकमबाट