नक्कली सुन र हतियार बरामद छानबिन समितिका संयोजक फेरिए
मकवानपुर । काठमाडौंबाट प्रहरीले बरामद गरेको भनिएको १५ किलो नक्कली सुन र हतियार बरामद प्रकरणको अनुसन्धानका लागि बनेको छानबिन समितिका प्रमुख फेरिएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी दीपक थापाको स्थानमा एसएसपी सुशीलकुमार यादवलाई संयोजक बनाएको छ ।
हिजो थापाको नेतृत्वमा समिति बनेको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले समितिमा सदस्य रहेकी एसएसपी किरण वज्राचार्य अर्को समितिमा रहेकाले उनको स्थानमा यादवलाई राखिएको बताए । उनका अनुसार वरीयतामा यादव थापाभन्दा अगाडि रहेकाले उनलाई संयोजकको जिम्मेवारी दिइएको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले मंगलबार कमलादी मोडबाट साढे १४ केजी चाँदी, आधा केजी सुन र दुई थान पेस्तोल बरामद गरेको थियो । घटनामा प्रयोग भएको भनिएको बा.६च ५५१९ नम्बरको स्कोर्पियो अझै फेला नपरेपछि प्रहरीमाथि आशंका सुरु भएको थियो ।
प्रहरीकै गतिविधि शंकास्पद पाइएपछि छानबिन समिति गठन भएको हो । रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनाको छानबिन सुरु भएको र दोषी पाइए कुनै पनि प्रहरीलाई उन्मुक्ति नदिइने बताए ।बाह्रखरी डटकमबाट