३६ वर्षदेखि वेपत्ता छोरा घर फर्कने आशामा वृद्ध सापकोटाका परिवार
विदुर–नुवाकोटको पश्चिमी भेगमा रहेको सामरीका एकै घरका दुई दाजुभाई झण्डै चार दशकदेखि वेपत्ता रहेका छन् । साहिलो दाजु घरवाटै र कान्छो भाई भारतवाट वेपत्ता भएका हुन् ।
८८ वर्षिय वृद्ध लेखनाथ सापकोटाको अन्तरआत्मा र सपना दुवैले यतिखेर भनिरहेको छ, हरेस नखानु एकदिन दुवै छोरा घरको आंगनीमा टुप्लुक्क आइपुग्छन् । वृद्ध सापकोटाले पनि सोही आशामा आफ्ना दुई छोराहरु एकदिन अवस्य घर फर्कने दृढ विस्वासमा दैनिक आंखा मुल वाटोतीर विछ्याइरहेका हुन्छन् ।
तीन वर्षको फरकमा सापकोटाका साहिलो छोरा माधव सापकोटा र कान्छो छोरा वासु सापकोटा वेखवर भएका हुन् । पहिले कान्छो छोरा वासु भारतवाट र त्यसको तीन वर्षपछि साहिलो छोरा माधव घरवाटै वेपत्ता भएका हुन् ।
वेपत्ता रहेका माधव र वासु सापकोटासंग कुनै वेला दुई दाजुहरु हरिहर र केशव ।
उनी आफ्ना दुई छोराको खोजीमा अझै भौतारिइरहेका छन् । उनलाई भाईहरु खोज्न वर्दियामा रहेका जेठा छोरा हरिहर र वैदेशिक रोजगारीमा मकाउमा रहेका माइलो छोरा केशव सापकोटाले भरपुर र सकेको साथसमेत दिइरहेका छन् । सामरीका सापकोटा परिवारका एकैघरका दुई दाजुभाई विगत ३६ वर्षदेखि वेपत्ता रहेका छन् । विदुरदेखि ३० किलोमिटर दुरी पश्चिममा रहेको म्यागङ गाउंपालिका– ६ सामरीका वृद्ध लेखनाथ सापकोटाका साईला छोरा माधब २०४९ र कान्छा छोरा बासु सापकोटा २०४६ सालदेखि वेपत्ता भएका हुन् । झण्डै चार दशकदेखि वेखवर भएका र उनीहरूको खोजीमा परिवारजनले सवैसंग सहयोगको अपिल गरेका छन् । एसएलसी उत्तिर्ण भएका माधब सापकोटा २०४९ सालमा हराउंदा २३ वर्षको र १८ वर्षका वासु सापकोटा २०४६ सालमा वेपत्ता हुंदा त्रिभुवन त्रिशूली मावि त्रिशूलीमा कक्षा १० मा अध्ययनरत थिए ।
भाइहरुको खोजीका लागि दाजु केशवले आँशु झार्दै देश/विदेशका नेपालीहरू, मानवतावादी संस्था र मिडियामा अपिल गरेका छन् । वृद्ध बुवाको आफु छोराहरुको मुख हेरेर बिदा हुन चाहेको बताउदै उनका दाजुभाईले खोजी गरिदिन सबैसामु अनुरोध गरेका छन् ।

वृद्ध सापकोटाका चार भाई छोरा र तीन दिदीवहिनी छोरीहरुमध्ये साहिलो र कान्छो छोरा वेपत्ता भएका हुन् । सवैसंग हारगुहार गरिसक्यौं । तर, मेरा काकाहरुको वास्तविकता अहिलेसम्म पत्ता लाग्न नसकेको हराइरहेका वासु र माधवका भतिजा आशिष सापकोटाले वताए ।
म्यागङ गापा सामरी (साबिक सामरी गाविस २) का बासु सापकोटा २०४६ साल फागुनमा भारतीय सेनामा भर्ती हुन आफ्ना पिता लेखनाथसंगै भारत गएका थिए । भर्ती प्रक्रिया ढिला भएपछि उनलाई पिताले इलाहाबादस्थित एक भारतीय प्रहरी अधिकारीको घरमा घरेलु कामदारका रूपमा छोडेर नेपाल घर फर्किए ।
पहिले त कान्छो छोरा वासुले केही महिनासम्म चिठीमार्फत परिवारसँग सम्पर्क राखे । तर, करिब एक वर्षपछि अचानक सम्पर्कविहीन भए ।
लगत्तै बाबुले इलाहाबाद गएर खोज्दा घरधनीले “छोरो झोला बोकेर घर जान्छु भन्दै गएको हो” भने । त्यही दिनदेखि हालसम्म बासु वेखवर छन्, परिवारको सम्पर्कमा नभएको माहिलो केशव सापकोटाको भनाई छ ।
वासु हराएको अहिले ३६ वर्ष पुग्दा पनि न उनको खबर छ, न कुनै जानकारी पत्ता लगाउन नसकिएको दाजु केशवको पिरलो छ । उनका साइलो भाई अर्थात् माधव सापकोटा पनि २०४९ साल असोज महिनादेखि बेपत्ता छन् ।
सामरी घरमा बिहानै उठेर घरायसी काम सकेर नाम्लो र हसिया बोकेर घाँस काट्न निस्किएका माधव साँझसम्म घर फर्किएनन् । खोजतलास गर्दा घरमा उनका लुगाफाटो र शैक्षिक प्रमाणपत्र समेत घरमा नभेटिएपछि परिवारले उनी पहिले नै कतै जान तयार भएर बसेको हुनसक्ने अनुमान गरेको थियो ।
दाजु केशवका अनुसार माधव हराएको पनि ३३ वर्ष वर्ष बित्दा पनि उनलाई न कसैले देखेको छ, न कुनै जानकारी नै आएको छ । आफ्नो कान्छो र साहिलो दुई दाजुभाइ लगातार हराएपछि वृद्ध लेखनाथ सापकोटाको परिवारमा अहिलेसम्म पनि कुनै खुशी, उत्साह र चैन नभएको केशवले भक्कानिदै भने ।
के गर्नु दुवै भाई आइदिए हुन्थ्यो, वृद्ध वुवा कति धेरै खुसी हुन्थे होलान् । दाजु केशवले भने । केशव पनि परिवारको गुजाराका लागि वैदेशिक रोजगारमा पुगेका छन् ।
१८ वर्षदेखि केशव मकाउमा वसेर रोजगारी गरिरहेका छन् । उनले आफ्ना दुई भाइको खोजीका लागि सवै क्षेत्रवाट सहयोगको अपेक्षा गरेका छन् ।
परिवारका अनुसार त्यस वेलादेखि नै आउला घर आउला भन्ने आश अहिलेसम्म उस्तै रहेको छ । हराएका वासु र माधवका माईलो दाजु केशब सापकोटा भक्कानिँदै भन्छन्, “भाइ बासु, तिमीले पठाएका चिठीपत्र अझै पनि ज्यूँका त्यूँ राखेका छौं, हरेकपल्ट पढ्दा आमाको याद आउँछ, जसले तिमीलाई ११ वर्षसम्म खोजिन्, बुबा पनि वृद्ध अवस्थामा निकै कमजोर हुनुुभएको छ, म आफैँ १८ वर्षदेखि विदेशमा छु, तिमीलाई विभिन्न माध्यमवाट खोज्ने प्रयास जारी छ, तिमी जहाँ छौ, फर्कि आऊ, हाम्रो ढोका तिमीलाई सधैँ खुल्ला छ ।”
केशव “भाइ माधव, यदि तिमी कहीँ सुरक्षित छौ भने घर फर्कि आऊ, दुःख सुख सँगै बाँढेर वसौला, हामी तिमीलाई माया गर्छौं, सम्झन्छौं, यो पीडा धेरै सहन सक्दैनौं,” भन्दै उनीसंगै परिवारका अन्य सदस्यहरू पनि भक्कानिन्छन् । हराएका दुई भाई माधव र बासुको पुरानो तस्बिर देखाउंदै उनलाई देखेका, चिनेका वा कुनै जानकारी राख्ने जो–कसैलाई जानकारी दिन अनुरोध गरेका छन् ।











































