बर्षातले बाढी पीडितको बिचल्ली

टेण्टभित्र पानी पस्यो, सुरक्षित स्थानमा लैजान माग
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन १०, शनिबार २२:१४

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले घर वगाएपछि नुवाकोटको विभिन्न स्थानमा वसोवास गर्दै आइरहेका बाढी पीडितहरु अविरल वर्षात्का कारण झनै बिचल्लीमा परेका छन् । उनीहरुले आफु वसेको टेण्टमै पानी पसेपछि सुरक्षित स्थानमा लैजान माग गरेका छन् । बाढीपछि आफ्नो थातथलोबाट विस्थापित भई नुवाकोटको विभिन्न स्थानमा आएरअस्थायी रुपमा वसोवास गरिरहेका विस्थापितहरु निरन्तरको झरीले झनै समस्यामा परेका छन् ।

बाढीका कारण छिमेकी रसुवाको उत्तरगया गाउंपालिकाको विभिन्न स्थानवाट विस्थापित भएर नुवाकोटको बिदुर नगरपालिका–५ बाणाचौतारोलगायतका ६ स्थानमा बाढी प्रभावितका लागि बनाइएको अस्थायी क्याम्पमा वर्षात्को पानी टेन्टभित्र पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको स्थानीय युवा सामाजिक अगुवा हरिशरण गजुरेलले वताए । उनले बाढी प्रभावितहरुलाई चिसो लाग्ने, विरामी हुने समस्या हुन सक्ने भएका कारण तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने वताए । अविरल वर्षात्ले बाणाचौतारोलगायतका क्याम्पमा समस्या थपिएको छ ।

बिदुर नपा–५ बाणाचौतारो, पिपलटार तथा लामिवगैंचासहित ६ स्थानमा बाढी प्रभावितका लागि बनाइएको अस्थायी क्याम्पमा अविरल वर्षासँगै टेन्टभित्र पानी पस्दा प्रभावितको दैनिकी थप असहज बनेको अर्का सहयोगी युवा दीपेन्द्र पौडेलले वताए । उनले वर्षात्को अवधिमा नजिकको विद्यालयमा बाढी पीडितहरुलाई लगेर सुरक्षित रुपमा राख्नु पर्ने माग गरे । ति स्थानहरुमा रसुवाको उत्तरगयाका साथै नुवाकोटको देवीघाटकासमेत गरि चारसय घरपरिवारका एकहजार दुई सय जना टेण्टभित्र वसोवास गरिरहेका छन् । दुई दिनदेखि परेको अबिरल वर्षात्का कारण समस्या परिरहेको पीडितहरुको गुनासो छ ।

वर्षाका कारण प्रभावितलाई परेको समस्यालाई सहज बनाउन रेडक्रस सोसाइटी नुवाकोटमार्फत त्रिपाललगायत आवश्यक सामग्री उपलब्ध गराई सहयोग तथा सहजीकरण गरिएको सभापति हरि श्रेष्ठले वताए । उनका अनुसार टेण्टमाथि त्रिपालले छोपेर पानी छेक्ने कार्य गरिएको हो । रेडक्रसका स्वयंसेवकहरूले बाढी प्रभावित क्षेत्रमा रहेका टेण्टहरूमाथि त्रिपाल राखेका हुन् । एक सातादेखि टेण्ट गाडेर वसिरहेका बाढी प्रभावितहरूलाई अविरल वर्षात्बाट सुरक्षित बनाउनका लागि त्रिपाल थप गरिएको वडाध्यक्ष लीलानाथ न्यौपानेले वताए ।

उनका अनुसार प्रभावितलाई सुरक्षित राख्न वडाले विशेष कार्य गरिरहेको उनले वताए । बाढीपछि फेरी वर्षात थपिएको कारण विस्थापितको टेण्ट चुहिएर जनजीवन प्रभावित भएकाले रेडक्रसद्वारा तत्काल प्रतिटेण्ट २ वटा त्रिपाल बितरण गरी स्वयमसेवकहरुद्वारा जडान गरिएको हो । लगातार पानी पर्न थालेपछि टेण्टभित्रै पस्न थाल्यो, चिसो पनि वढ्न थालेको छ, विरामी होला भन्ने चिन्ता पो वढ्न थालेको छ–वाढी पििडत आशावहादुर तामाङ वताउंछन् । यस्तै समस्या टेण्टभित्र वसिरहेका अमृत तामाङ र पारस तामाङको पनि छ ।

उनीहरु टेण्ट भन्दा पनि अस्थायी रुपमा जस्ताको टहरो भए पानी पस्दैन थियो कि–भन्छन् । अर्की बाढी पीडित वुद्धिमाया तामाङ सरकारले छिट्टै पुर्नवासको व्यवस्था गरे हुनेथियो–भन्छिन् । वाणाको चौतारोस्थित अस्थायी क्याम्पमा वसोवास गरिरहेकी वुटि तामाङ समूहगत रुपमा धेरै जना वसोवास गरेको भए पनि वरु आश्रित केन्द्रमा पानी त परेको थिएन–भन्छिन् । उनी टेण्टमा चिसो लाग्ने समस्या वढ्न थालेकाले छिट्टै पुर्नवासको लागि सरकारले पहल गरिदिए हुने–भन्छिन् ।

नुवाकोटका बाढी प्रभावित वसोवास गरिरहेका स्थानमा बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, रेडक्रसलगायतको सहकार्यमा खानेपानीको समस्या भएका समुदायलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले ट्यांकरवाट पानी वितरण भइरहेको छ । पानी सकिएको जानकारी हुने वित्तिकै पानी भर्ने गरिएको रेडक्रस नुवाकोटका सचिव उद्धव शर्मारिजालले जानकारी दिए ।

रेडक्रस नुवाकोटद्वारा पानी भण्डारण तथा वितरणका लागि विभिन्न स्थानमा पानी ट्याङ्की उपलब्ध गराइएको छ । उक्त पानी ट्याङ्कीमार्फत स्वच्छ पानी सुरक्षित रूपमा भण्डारण गरी आवश्यक परेका स्थानीय बासिन्दालाई पानीको पहुँच सहज बनाउन सहयोग पुगेको बिदुरका सुशील रिजालको भनाई छ ।


सर्वाधिक रुचाइएको