स्वास्थ्य प्रयोगशाला सन्चालन
बिदुर – गाउंवासीको सुविधाका लागि नुवाकोटको तारुका स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सन्चालन गरिएको छ । बाढी प्रभावित तथा स्वास्थ्य सेवाको पहुंचका लागि उक्त प्रयोगशालाको सन्चालन गरिएको हो । तारकेश्वर गाउंपालिका ३ स्थित जोरचौतारामा रहेको तारुका स्वास्थ्य केन्द्रमा स्थापना गरिएको स्वास्थ्य प्रयोगशाला स्वास्थ्य (ल्याब)को तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले शनिवार उद्घाटन गरेका हुन् ।

उनले गापाकै पहिलो स्वास्थ्य प्रयोगशाला स्वास्थ्य (ल्याब)वाट आम सर्वसाधारणले स्वास्थ्य लाभ लिनु पर्नेमा जोड दिए । अध्यक्ष अधिकारीले ग्रामीण स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपुर्ण उपलब्धि भएको दावी गरे । तारकेश्वर गापाका अन्य स्वास्थ्य केन्द्रहरूमा पनि स्वास्थ्य प्रयोगशाला निर्माणका लागि गापा प्रयत्नरत रहने बताए ।

प्रयोगशाला उद्घाटनसँगै उक्त प्रयोगशालामा रगत, खकार, दिशा, पिसाबका माध्यमबाट हुने विभिन्न स्वास्थ्य परीक्षण सेवा नियमित रुपमा सञ्चालन गरिएको छ । यससँगै, सामान्य स्वास्थ्य परीक्षणका लागि सहरसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको वडाध्यक्ष सुर्यमान श्रेष्ठको भनाई छ ।














































