साउनको पहिलो सोमवार दुप्चेश्वरमा पुगे हजारौं भक्तजन

– एकैदिन पौने दुई लाख भेटी
लोकखबर
२०८२ श्रावण ५, सोमबार २३:०९

बिदुर–शिव भगवानको पुजा आराधन गर्ने विशेष महिनाको रुपमा साउन महिनालाई लिने गरिन्छ । साउनको पहिलो सोमवार नुवाकोटको रामतीस्थित प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा हजारौं भक्तजनहरुको आगमन भएको छ ।

दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको हो ।

यातायातको सहजतासंगै दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साउनको पहिलो सोमवार मात्र एकैदिन झण्डै पौने दुई लाख रुपैया भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
दुप्चेश्वरमा सोमवार सात हजार जनाले मन्दिर पुगेर पुजाआजा गरेका छन् । जसमध्ये ६० प्रतिशत महिला रहेका थिए ।

व्रतालुहरुसमेत उल्लेख्य रुपमा रहेका थिए । आठ घण्टासम्म मन्दिर दर्शन गर्नका लागि लाइन वस्नु परेको थियो ।
दुप्चेश्वरमा सोमबार एकलाख ७८ हजार ६ सय ८५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा सन्ध्या आरतीको ८८ हजार ७० रुपैया भेटी संकलन भएको छ ।

दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ । श्रेष्ठका अनुसार पछिल्लो एक वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए ।
यातायात र वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।

दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।


सर्वाधिक रुचाइएको