समुदाय प्रहरी साझेदारी कार्यक्रम
बिदुर – नुवाकोटमा जनचेतनामुलक कार्यक्रमसहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरिएको छ । प्रहरीहरुलाई प्रशिक्षणसमेत दिइएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत रहेका आठवटा प्रहरी इकाइहरूले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सुरक्षित वातावरण कायम गर्ने उद्देश्यका साथ बालविवाह, घरेलु हिंसा, जातीय छुवाछुत, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी समुदाय–प्रहरी साझेदारी अभियानलाई सार्थकता दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यक्रममा सर्वसाधारणलाई सामाजिक विकृति तथा अपराधजन्य गतिविधिको नियन्त्रण तथा रोकथाममा समुदायको भूमिका, प्रचलित कानूनी व्यवस्था तथा समुदाय–प्रहरी साझेदारीको महत्वबारे जानकारी गराइएको प्हरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । यसका साथै बिदुरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई “भिड नियन्त्रण अनुशिक्षण तथा अभ्यास कार्यक्रम” सञ्चालन गरि एकदिने अनुशिक्षण कार्यक्रम गरिएको छ । प्रहरीहरुलाई प्रहरी निरीक्षकद्वय हरिबोल केसी र अनुप गुरुङद्वारा आवस्यक प्रशिक्षण दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी कर्मचारीहरूलाई “कोत गारदको काम कर्तव्य तथा हिरासत व्यवस्थापन सम्बन्धि अनुशिक्षण” प्रदान गरिएको छ । प्रहरी नायव उपरिक्षक इकबाल हवारीद्वारा आवस्यक प्रशिक्षण दिइएको नुवाकोट प्रहरीले जनाएको छ ।




















































