विपद कल सेन्टर सन्चालन
बिदुर – विपद न्युनीकरणमा सामूहिक सहभागितामा जोड दिदै नुवाकोटमा ‘विपद् कल सेन्टर’ सञ्चालन गरिएको छ । वर्षायामसँगै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनाको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय नुवाकोटले २४सै घण्टा ‘विपद् कल सेन्टर’ सञ्चालनमा ल्याएको हो । जिल्ला प्रशासन कार्यालयअन्तर्गत जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट सञ्चालन गरिएको उक्त कल सेन्टरमार्फत विपद्सम्बन्धि विभिन्न जानकारीका साथै उद्धार, राहत, सूचना तथा समन्वयका लागि आमनागरिकले जुनसुकै बेला सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

विपद्को समयमा तत्काल सहयोग आवश्यक परे हटलाइन नं. ११४९ तथा सम्पर्क नम्बर ०१०–५६१९३३ मा फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । साथै इमेलमार्फत पनि सूचना तथा जानकारी उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । यस्तै, सुरक्षा निकायका आपतकालीन सेवाका लागि नेपाल प्रहरीको हटलाइन नं. १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४ मा पनि सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढी, पहिरो, डुबानलगायत विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, अफवाहमा विश्वास नगर्न तथा कुनै पनि आपतकालीन घटना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउन आग्रह गरेको छ ।











































