सिनेपाको दोश्रो चरणको निर्माण प्रक्रिया सुरु

– नेपालकै ठुलो इन्डोर सुटिङ स्टुडियो निर्माणाधिन
लोकखबर
२०८२ श्रावण १८, आईतवार १९:१८

बिदुर–चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगल, काभ्रेपलाञ्चोकमा निर्माण गर्न लागिएको नेपाली चलचित्रको विकास र विस्तार गर्ने उद्धेश्यले वनेपामा धमाधम अत्याधुनिक इन्डोर फिल्म स्टुडियो ‘सिनेपाः को निर्माण भइरहेको छ । निर्माणाधिन उक्त ‘सिनेपाः को लागि दोस्रो चरणकोे निर्माण कार्यको प्रक्रिया सुरु भएको छ ।

यससंगै बनेपामा निर्माणाधिन इन्डोर फिल्म स्टुडियोको लागि दोस्रो चरणको बोलपत्र आह्वानसमेत भएको छ । इच्छुक निर्माण कम्पनीलाई ३० दिनभित्र अनलाइनमार्फत ठेक्काको आवेदन पेश गर्न जानकारी दिइएको छ ।

हाल बनेपा नगरपालिका १० स्थित जनगलमा ‘सिनेपाः’ इन्डोर फिल्म स्टुडियो निर्माण भइरहेको छ । सो स्टुडियोको भित्री भाग निर्माणका लागि दोस्रो चरणको ठेक्का आह्वान गरिएको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

उक्त बोलपत्र रकम ३६ लाख रुपैयाँ उल्लेख छ । यसअघि, गत २०८१ माघ २७ गते चलचित्र विकास बोर्डले पहिलो टेन्डर आह्वान गरेको थियो ।
बोर्डका अध्यक्ष डिसीका अनुसार, ‘सिनेपाः’ नेपालको ठूलो इन्डोर सुटिङ स्टुडियो रहेको छ । यसवाट चलचित्रको विकास र विस्तारमा योगदान पुग्ने लक्ष्य रहेको छ । नेपालमा हाल सरकारी स्वामित्वमा वनिरहेको उक्त स्टुडियो पहिलो रहेकोसमेत अध्यक्ष डिसीले बताए ।

कुल ४२ रोपनी क्षेत्रफलमा निर्माणाधिन उक्त स्टुडियोले स्वदेशी चलचित्रका निर्मातालाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय र लागतमैत्री छायांकन स्थल उपलब्ध हुने जनाइएको छ । वर्षौंदेखि योजनामा रहेको उक्त कार्यको निर्माण चरण धमाधम भइरहेको छ ।
यहि २०८२ साल बैशाख ३० गते प्रधानमन्त्री केपी शर्माओलीद्वारा विशेष कार्यक्रमकावीच उक्त स्टुडियोको निर्माण आरम्भ भएको थियो । प्रधानमन्त्री ओलीले यस कार्यलाई नेपाली चलचित्र क्षेत्रका लागि “एक प्रकारको क्रान्ति” भएको वताएका थिए ।

“६ दशकअघि देखिको उक्त योजना अब साकार हुँदैछ, ।” त्यस वेला प्रधानमन्त्रिले भनेका थिए “राज्यसँग धेरै बजेट नभए पनि सुरु गरिएका कामहरू पूरा हुन्छन्, सिने क्षेत्रप्रति हाम्रो प्रतिबद्धता दृढ छ ।” सिनेपाः को निर्माणले नेपाली चलचित्र उद्योगमा आधुनिक सुटिङ पूर्वाधारको खाँचो पुरा गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको चलचित्र विकास वोर्डले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको