बिद्यालयमा इन्टरनेट प्याकेज प्रदान

– आधुनिक शैक्षिक प्रभावकारितामा जोड
लोकखबर
२०८३ असार ३, बुधबार २३:३०

बिदुर– आधुनिक शैक्षिक प्रभावकारितामा जोड दिदै नुवाकोटको हात्तिगौंडास्थित एक विद्यालयलाई निःशुल्क इन्टरनेट प्रविधि उपलव्ध गराइएको छ । यसवाट विद्यार्थी तथा शिक्षकहरुलाई प्रविधियुक्त पठनपाठनका लागि मद्धत पुगेको छ । नेपाल टेलिकम त्रिशूली शाखाले बित्तिय सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विदुर नगरपालिका–८ हात्तिगौंडामा रहेको भैरुम माविमा निःशुल्क इन्टरनेट प्याकेज उपलव्ध गराएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा प्रविधियुक्त पठनपाठनमा जोड दिदै द्रुत क्षमताको इन्टरनेट प्याकेज विद्यालयलाई हस्तान्तरण गरिएको हो । टेलिफोन, टेलिभिजन हेर्नेसमेत सुविधा रहेको द्रुत क्षमताको इन्टरनेट प्याकेजले विद्यार्थीमा आधुनिक र प्रविधियुक्त शिक्षा प्रणालीको विकास हुने नेपाल टेलिकम त्रिशूली शाखाका प्रमुख बिष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनले प्रविधिको उचित सदुपयोग गर्न विद्यार्थी तथा शिक्षकहरुलाई सुझावसमेत दिएका छन् ।

निःशुल्क इन्टरनेट प्याकेजवाट विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने तथा शिक्षाप्रति थप उत्साहित गर्ने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले वताए । नेपाल टेलिकमले उपलब्ध गराएको यस सहयोगले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुगेको विद्यालयका अध्यक्ष सविन श्रेष्ठको भनाई छ । उनले यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा अध्ययनप्रति सकारात्मक ऊर्जा थपिएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल टेलिकम त्रिशूली शाखाका सहायक प्रशासकिय अधिकृत पुरुषोत्तम अर्याल, बिद्यालयका सदस्य गोकर्ण रोक्का, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले शिक्षा क्षेत्रमा निजी तथा सार्वजनिक संस्थाहरूबाट हुने सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको वताएका छन् । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको आधुनिक शैक्षिक गुणस्तर अभिवृद्धि, सिकाइ उपलब्धि सुधारमा विभिन्न कार्यक्रम सञ्चालन गरिनुका साथै शिक्षामा यस प्रकारको सहयोगमूलक गतिविधिले विद्यार्थीहरूको प्रविधियुक्त शैक्षिक आवश्यकतामा मद्धत पुग्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास र आकर्षण वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको