हेलिकप्टरमार्फत वृद्धको उद्धार
बिदुर–बाढी र पहिरोले त्रिदेशिय मार्ग अन्र्तगतको स्याफ्रुबेशी–टिमुरे सडक खण्ड अवरुद्ध भएपछि विरामी भएका टिमुरेका एक वृद्धको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वृद्धलाई निःशुल्क हेलिकप्टर सेवा उपलव्ध गराइएको हो ।

गोसाईकुण्ड गाउपालिका २ टिमुरेका ६७ वर्षिय लेम्वा तामाङलाई अकस्मात स्वास्थ्यमा समस्या आएपछि निःशुल्क रूपमा हलिकप्टर उद्धार गरी काठमाडौंमा उपचारको लागि पठाइएको गोसाईकुण्ड गापा कार्यालयले जनाएको छ । गोसाईकुण्ड गापा र मेडिक्स एण्ड माउण्टेनिर्यस फाउण्डेसन नेपालको सहकार्यमा वृद्धको हेलिकप्टरमार्फत उद्धार गरि मनमोहन मेमोरियल अस्पताल स्वयंम्भू काठमाडौंमा पु¥याई अस्पतालमा भर्ना गरिएको गापा कार्यालय स्याफ्रुवेशीले जनाएको छ ।

चीनको तिव्वत हुदै लेन्दोखोलामा आएको बाढीले गत असार २४ गते र साउन १४ गतेको भीषण बाढीपहिरोले गर्दा स्याफ्रुबेशी–टिमुरे सडक खण्ड अबरूद्ध भएकोमा वृद्धको उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्नु परेको हो ।
वृद्ध लेम्वा तामाङको आकस्मिकरूपमा स्वास्थ्यमा जटिल समस्या आई आकस्मिक उपचार गनुपर्ने भएको कारण गोसाईकुण्ड गापा र मेडिक्स एण्ड माउण्टेनिर्यस फाउण्डेसन नेपालको वीच निःशुल्क हेलिकप्टर उद्धार सम्झौता भएअनुसार उक्त उद्धार गरिएको हो ।

बिरामी तामाङको स्वास्थ्य अवस्था हाल समान्य रहेको छ । उनको हाल मनमोहन स्मृति अस्पतालमा उपचार गरिएको गोसाईंकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

उनका अनुसार विपद्को समयमा आपत्कालीन उद्धारका लागि गापाले फाउन्डेसनसँग पूर्व सम्झौता गरिसकेकोले उक्त उद्धार कार्य तत्काल सम्भव भएको होे । वृद्धलाई एपेन्डिक्सको समस्या भएको स्वास्थ्यकर्मीहरु वताउंछन् ।












































