महाकवी देवकोटा जयन्तीमा सम्मान घोषणा
बिदुर – एकसय १८ औं महाकवी लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा सम्मान कार्यक्रम घोषणा भएको छ । दुई जना व्यक्तिलाई सम्मानित गर्ने निर्णय गरिएको नयाँ बस्ती युवा क्लबले जनाएको छ । देवकोटा जयन्ती तथा क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा प्रा.डा. वासुदेव त्रिपाठी र निर्मल अर्याललाई सम्मान गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए ।

उनका अनुसार क्लवको वार्षिकोत्सवको अवसरमा विगतमा झै यस वर्ष पनि स्रष्टा सम्मान कार्यक्रम गर्ने निर्णय भएको छ । यहि कात्तिक २२ गते लक्ष्मी पूजाको अवसरमा कार्यक्रमसहित प्राध्यापक डा. त्रिपाठी र अर्याललाई सम्मान गरिने अध्यक्ष गौतमले वताए । प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डा. त्रिपाठीलाई ५१ हजार राशीसहितको सम्मान अर्पण गरिने क्लबका सचिव रामचन्द्र दंगालले बताए ।
क्लवले समाजसेवी एवं युवा सर्जक निर्मल अर्याललाई २५ हजार राशीसहित सम्मान गर्न लागिएको हो । कार्यक्रममा प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. गंगा उप्रेती र विशिष्ट अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको सहभागीता रहने क्लवले जनाएको छ ।











































