बाढीपहिरो प्रभावित परिवारलाई राहत

– १६ घरपरिवारलाई हस्तान्तरण
लोकखबर
२०८३ कार्तिक १८, मंगलवार २३:२०

बिदुर – बाढीपहिरोबाट प्रभावित जाजरकोटको भेरी नगरपालिका–२, रिसाङका घरपरिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ । गत साउन ३० गते आएको बाढीका कारण प्रभावित भएका १६ घरपरिवारलाई विभिन्न राहत सामग्री उपलव्ध गराइएको हो । सामुदायिक विकास केन्द्र नेपाल (सिडिसी नेपाल) ले बाढीपहिरोका कारण घरबारविहीन बनेका परिवारलाई राहत वितरण गर्दै संस्थाले विपदको समयमा पीडित परिवारप्रति सहयोग गरिएको अध्यक्ष राधा मताङ्गीले वताइन् ।

उनले दुःखमा एकअर्काको सहारा बनौँ, थोरै भए पनि सहयोग गरौं भन्ने भावनाका साथ विकट गाउँका बाढीपहिरो प्रभावित परिवारसम्म राहत पु¥याउन सहयोग गर्ने रोटरी क्लब अफ काठमाडौं सर्कल र डिजास्टर एड नेपालप्रति आभार व्यक्त गरिन् । उनले विपद्को पीडामा रहेका परिवारलाई सानो भए पनि सहयोग गर्न पाउँदा विपदको दुःखमा साझेदारी गरिएको वताइन् । राहत वितरण कार्यक्रममा संघीय सांसद खडकबहादुर बुढा, भेरी नगरपालिकाकी उपमेयर सीता जैसी, वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष मताङ्गीले भनिन्, “यो सहयोगले पीडित परिवारको सम्पूर्ण पीडा मेटाउन नसके पनि दुःख र संकटको यस घडीमा केही राहत, सहजता र आशा प्रदान गर्न सक्ने विश्वास लिएको र प्रभावित परिवारको पुनःस्थापना र दीर्घकालीन समाधानका लागि सबैको निरन्तर साथ र सहकार्य आवश्यक छ ।” सामुदायिक विकास केन्द्र नेपालले देशका ७७ वटै जिल्लाका विकट बस्तीमा रहेका विपन्न तथा असहाय समुदायलाई सहयोग गर्दै आएको अध्यक्ष मताङ्गीले वताइन् ।


सर्वाधिक रुचाइएको