प्रशासनद्वारा निषेधाज्ञा जारी
बिदुर– जिल्ला प्रशासन कार्यालय नुवाकोटले सम्भावित घटनाप्रति सचेत रहँदै निषेधाज्ञा जारी गरेको छ । नेपाली सेनालेसमेत सुरक्षाका लागि गस्ती गर्दै माइकिङ गर्दैसर्वसाधारणलाई सचेत गराइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेद्वारा हस्ताक्षरित सूचनामा बुधबार बिहान १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नुवाकोट जिल्लाभर लागू हुनेगरि स्थानीय प्रशासन ऐन २०२८(संशोधनसहित) को दफा ६ को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ । जारी निषेधज्ञाअनुसार जिल्लामा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ । यसका साथै साथै अति आवश्यकबाहेक सबै निजी तथा सार्वजनिक यातायातका साधन सञ्जालनमा रोक लगाइएको छ ।
उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । घिमिरेका अनुसार हाल देशभर विकसित भैरहेको जेन–जीको प्रदर्शन लगायतका घटना क्रमशः सामान्यीकरण हुँदै गइरहेको र वार्ताका लागि आह्वान समेत भइसकेको अवस्थामा नुवाकोट जिल्लामा व्यक्तिगत तथा सार्वजनिक सम्पतिको क्षति रोक्नका लागि उक्त निर्णय गरिएको जनाएको छ ।

नुवाकोटका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलगायतका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले यहि भदौ २५ गते वुधवारदेखि अर्को आदेश नभएसम्मको लागि नुवाकोट जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी गरिएको स्थानमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुश, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । साथै, अति आवश्यक बाहेक सबै निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालनमा पूर्णतः रोक लगाइएको छ ।











































