सलाखु खोलामा सिकार गर्न रोक
बिदुर-अवैध रुपमा खोलामा सिकार गर्ने वढेका कारण जलचरको संरक्षणका लागि नुवाकोटको सलाखु खोलामा जलचर संरक्षण अभियान सन्चालन गरिएको छ ।
दुई वर्ष उक्त खोलामा अवैध रुपमा माछा मार्ने कार्यमा प्रतिवन्ध लगाइएको छ । म्यागङ गाउँपालिका–२ वडा कार्यालयले सलाखु खोला अन्तर्गत जलचर जीवहरुको अवैध रुपमा सिकार कार्य रोक्न उक्त निर्णय गरेको हो ।
स्थानीय सलाखु खोला संरक्षण समितिको अनुरोधअनुसार सलाखु खोला अन्तर्गत खुर्सानी दोभानदेखि सप्ताङ खोलासम्म अवैध रुपमा करेन्ट तथा विषादीको प्रयोग गरी खोलामा रहेका जलचरहरु माछालगायतका जीवहरुको अवैध रुपमा सिकार गर्ने कार्यमा रोक लगाइएको छ । उक्त स्थानमा यहि कार्तिक १ गतेदेखि लागू हुने गरी दुई वर्षका लागि पूर्ण रूपमा अवैध क्रियाकलापमा रोक लगाइएको म्यागङ २ का वडाध्यक्ष सन्दवीर तामाङद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
उनका अनुसार सलाखु खोलाको सीमा क्षेत्रमा हुने अनधिकृत क्रियाकलापहरू रोक्न सबैलाई सचेत गराइएको छ । “खोलामा हुने यस किसिमका कार्यहरूले वातावरणमा असर पु¥याउने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्न अनुरोध गरिन्छ”–सूचनामा भनिएको छ । वडा कार्यालयले अवैध कार्य नगर्न चेतावनी दिँदै यस्ता कार्यमा संलग्न हुने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने जनाएको छ । स्थानीयवासी, सरोकारवाला र सम्बन्धित निकायहरूलाई वातावरणीय संरक्षणमा सहकार्य गर्न पनि अनुरोध गरिएको छ ।











































