पीडितको पुर्नस्थापनाका लागि सम्झौता
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको विभिन्न स्थानमा तहसनहस गरेको छ । विभिन्न निकायले पुर्नस्थापनाको कार्य सुरु गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोगसहितका विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । बाढीबाट प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्न तथा पुनःस्थापनाका लागि रेडक्रस र तारकेश्वर गाउपालिका वीच विशेष सम्झौता भएको छ ।

सम्झौताअनुसार रेडक्रसले स्थायी आवासको व्यवस्था नभएसम्म एक सय घरधुरीलाई घरभाडा भुक्तानी, ६० घरधुरीलाई सङ्क्रमणकालीन आवास र तीनसय परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता प्रदान गर्र्ने सभापति हरि श्रेष्ठको भनाई छ । उनका अनुसार स्वास्थ्य, सरसफाइ र आश्रय सहायताका अतिरिक्त रेडक्रसले पिमल्टार खानेपानी आयोजना, माझिगाउ खानेपानी आयोजना, सिचाई योजना, झोलुङ्गे पुल निर्माण, खोलेबेसी, माझिगाउ र दर्शनटारमा स्वास्थ्यचौकी, बिद्यालय निर्माण लगायतका निर्माण कार्य गर्नेछ । बाढीका कारण बेपत्ता परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई जनही एक लाख रुपैयाँ र प्रभाबित घरधुरीलाई १५ हजारका दरले बहुद्देश्यीय नगद सहायता उपलब्ध गराउनेछ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा सञ्चालन हुने यी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहका अध्यक्षको संयोजकत्वमा संयुक्त समन्वय समिति गठन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा झोलुङ्गे पुल, सिँचाइ, खानेपानी र आवास निर्माण तथा बाढी प्रभावितहरूको लागि आर्थिक सहयोग गर्नेलगायतका सम्बन्धमा सम्झौता भएको हो । नेपाल रेडक्रस सोसाइटीका तर्फबाट नुवाकोट जिल्ला शाखाका अध्यक्ष हरि श्रेष्ठ र तारकेश्वर गापाका तर्फबाट अध्यक्ष शिव अधिकारी अविरलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बाढी प्रभावित क्षेत्रको अस्तव्यस्त जनजीवनको तत्काल निकासका लागि सम्झौता अनुरूपका कामहरू कति पनि विलम्ब नगरी द्रुत गतिमा सम्पन्न गर्न आग्रह गरिएको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, आवास तथा पुनःस्थापनाका लागि तारकेश्वर गापाको अगुवाइमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको हो । बाढी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि रेडक्रस र तारकेश्वर गापाले जीविकोपार्जन पुनःस्थापना सहायता उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । बाढीले तारकेश्वर गापामा तारकेश्वर गापामा ४८ घरमा क्षति गरेको छ ।











































