‘बाआमा छोराछोरीसंग गापा अध्यक्ष’ कार्यक्रम

– आधुनिक शिक्षामा जोड
लोकखवर शिक्षा संवाददाता
२०८२ कार्तिक २७, बिहीबार २२:०९

बिदुर– आधुनिक र प्रभावकारी शिक्षामा जोड दिदै नुवाकोटको तारुकामा बाआमा छोराछोरीसंग गाउंपालिका अध्यक्ष कार्यक्रम गरिएको छ । विद्यालय तथा विद्यार्थीहरुमाझ शैक्षिक अवस्थालाई अभिभावकमाझ वसेर अन्र्तक्रिया गराउने उद्धेश्यले उक्त कार्यक्रम गरिएको हो ।

तारकेश्वर गाउंपालिका २ तारुका आंपचौरस्थित श्रीकृष्ण माविमा विहीवार बाआमा छोराछोरीसंग गापा अध्यक्ष कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय, शिक्षकशिक्षिका तथा सरोकारवाला, सर्वसाधारणसंग शैक्षिक विकास तथा आधुनिक शिक्षाको प्रभावकारिताका सम्वन्धमा अन्र्तक्रिया गरिएको हो ।

अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रमको उद्घाटन गर्दै तारकेश्वर गाउंपालिका गापा अध्यक्ष शिव अधिकारी अविरलद्वारा विद्यालयलाई विभिन्न सहयोग तथा विद्यार्थीहरुलाई विभिन्न सचेतनामुलक पुरस्कार उपलव्ध गराइने घोषणा गरे । साथै गापाको तर्फवाट सो विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार, अनुशासन, वहुप्रतिभान ६ जना विद्यार्थीलाई पांच÷पांच हजार रुपैया प्रोत्साहन पुरस्कार गापा अध्यक्ष अधिकारीले प्रदान गरे ।

आगामी बजेटबाट सो विद्यालयमा कम्प्युटर प्रविधिबाट पढाइ हुने ’डिजिटल लर्निङ’ कार्यक्रम सुरु गर्ने योजना रहेको समेत अध्यक्ष अधिकारीले बताए । विद्यालयको भौतिक आवश्यकता पुरा गर्नका लागि तारकेश्वर गापाले आवस्यकता अनुसार विविध शैक्षिक सहयोग गर्नेसमेत वताए ।शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावकले सहकार्य गर्नुपर्ने बताउंदै अध्यक्ष अधिकारीले विद्यालयका कुनै कमीकमजोरी वा शिक्षा सम्वन्धि कुनै गुनासो भएमा जानकारी गराउन अभिभावकहरुलाई आग्रह गरे । अध्यक्ष अधिकारीले आफ्ना नानीवावुहरुका लागि घरमा शैक्षिक कार्यका लागि समय छुट्याउन पनि आग्रह गरे ।

बालबालिकाको शैक्षिक विकासका लागि विद्यालय र अभिभावक दुवैको उत्तिकै योगदान आवश्यक रहेको र सहकार्य भइरहेको विद्यालयका अध्यक्ष समरवहादुर आलेमगरले वताए । कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीहरुले नयां शैक्षिक योजना, आधुनिक र व्यवहारिक शिक्षाका सम्वन्धमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा गापा अध्यक्ष शिव अधिकारी अविरलले विद्यालयको शैक्षिक विकास र शिक्षाको प्रभावकारिताका लागि विशेष रुपमा एकलाख, विद्यार्थीहरूलाई ऐतिहासिक, पुरातात्विक, धार्मिक, प्राकृतिक सम्पदाहरूको अवलोकन गराउन शैक्षिक भ्रमणका लागि एकलाख ५० हजार, सरस्वती मन्दिर निर्माण र मूर्ति स्थापनाका लागि एक लाख ८० हजार, सभाहल निर्माणका लागि दुई लाख ५० हजार र वार्षिकोत्सवलगायतका कार्यक्रमका लागि थप एकलाख रुपैया गापाको तर्फवाट उपलव्ध गराउने घोषणा गरे ।

सोही कार्यक्रममा विद्यार्थीहरूको प्रोत्साहनका लागि वालकक्षादेखि १२ कक्षासम्मका ७५ जना विद्यार्थीहरुलाई छनौट गरि स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरिएको छ । ति विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल, कलरलगायतका ६ प्रकारका सामग्रीहरु प्रदान गरिएको प्रधानाध्यापक जनकमान प्रधानले जानकारी दिए ।

यसका साथै साउनदेखि हालसम्म विद्यालयले गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता भएका छात्रछात्राहरुलाईसमेत पुरस्कार प्रदान गरिएको छ । १० वटा अतिरिक्त क्रियाकलापमा विजेता एकसय जनालाई पुरस्कारसमेत प्रदान गरिएको छ ।

कार्यक्रममा तारकेश्वर गापा २ का वडाध्यक्ष शिवप्रसाद पनेरु, ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठ, तारकेश्वर गापा शिक्षा सहजकर्ता मन्जु प्रधानलगायतले अव शिक्षा परिणाममुखी र प्राविधिक शिक्षामा केन्द्रीत हुनु पर्ने वताए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।


सर्वाधिक रुचाइएको