‘निःशुल्क प्लाष्टिक सर्जरी’ शिविर सुरु

– सर्वसाधारणलाई सुविधा
लोकखबर
२०८२ कार्तिक २९, शनिबार २१:२८

बिदुर-सर्वसाधारणको सुविधाका लागि नुवाकोटकोे एकै स्थानमा १३ प्रकारका प्लाष्टिक सर्जरी सुरु भएको छ । त्रिशूलीमा वृहत रुपमा उक्त सर्जरीको शनिवार उद्घाटन गरिएको छ ।

विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा सनचालित तीन दिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले जलन सम्वन्धि र छालाका विरामीहरुको सुविधाका लागि सन्चालित उक्त शल्यक्रिया शिविरवाट लाभ लिन सम्वन्धित विरामीहरुलाई अनुरोध गरे ।

उपमेयर प्रभा बोगटीले वृहत र विशेषज्ञ रुपमा सन्चालित उक्त शिविर प्रभावकारी हुने विस्वास व्यक्त गरिन् । उनले सो शिविरमा प्लाष्टिक सर्जरी गर्न आवस्यक भएका विरामीलाई सुविधा लिन अनुरोध गरिन् । उक्त प्लाष्ट्रिक सर्जरी शिविर आगामी मङ्सिर १ गतेसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए । उनले शिविरमा जलन, दुर्घटना, जन्मजात विकृति तथा छाला सम्वन्धि विरामीहरूले स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको बताए ।

यसका साथै शिविरमा विरामीले परामर्श गरेर आफुलाई चाहिएको उपचार सेवाका सम्वन्धमा जानकारी लिन सक्ने उनले वताए । त्रिशूली अस्पतालमा सन्चालित सो  शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका तीन चिकित्सकसहित ११ जना, विदुर नपाका १० जना र त्रिशूली अस्पतालका पांच जना स्वास्थयकर्मी खटिएका छन् ।

कार्यक्रममा  विदुर नपाका विभिन्न स्वास्थ्य इकाइका साथै अस्पतालका स्वास्थ्यकर्मीहरुले उक्त वृहत प्लाष्ट्रिक सर्जरी शिविरवाट भरपुर रुपमा सेवा लिन विरामीहरुलाई अनुरोध गरिएको जनस्वास्थय निरीषक रामराजा भण्डारीले जानकारी दिए । शिविरमा विशेषतः आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको, आगलागीबाट कपाल गुमाएकाहरू, आगोले पोलेर वा जन्मजात हातका औँला टाँसिएको, हात–खुट्टामा जन्मजात पाँचभन्दा बढी औँला भएको, ओठ वा तालु फुटेको, मांसपेशी खुम्चिएर नचल्ने अंग, विस्फोटनबाट क्षतिग्रस्त भई शल्यक्रिया आवश्यक रहेको अवस्थामा पुगेका, खुट्टाको पैतालाभित्र फर्किएको, काटिएको अंग पुनः अपरेशन आवश्यक परेका, कान–नाक चिरिएको समस्या, शरीरका मुसा, कोठी, दाग, गांठाहरु, स्तन क्यान्सरसँग सम्बन्धित शल्यक्रिया आवश्यक परेका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भई खाँटे घाउ बनेका बिरामीहरूको उपचार सुरु गरिएको  छ ।
यसका साथै स्तनको आकार मिलाउनु पर्ने तथा क्यान्सर उपचारपछि गुमेको स्तन पुनः बनाउनु पर्ने अवस्थाका बिरामीलाई समेत शिविरमा सेवा उपलब्ध गराइएको डा. सन्तोषविक्रम भण्डारीले जानकारी दिए । जटिल शल्यक्रिया गर्न आवस्यक भएका बिरामीहरूका थप उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल पठाइने डा. भण्डारीले बताए ।
शल्यक्रिया तथा उपचारका लागि आवश्यक सबै स्वास्थ्य परीक्षण सेवा पनि शिविरकै माध्यमबाट निःशुल्क रुपमा उपलब्ध गराइएको  छ ।  शिविरमा सम्बन्धित समस्या भएका सबैले स्वास्थ्य परीक्षण गराई सेवा लिन त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले आग्रह गरेका छन् ।


सर्वाधिक रुचाइएको