स्थानीय तहलाई साक्षरता कार्यक्रम हस्तान्तरण
बिदुर- आधारतभुत तहमा सन्चालन गरि नुवाकोटको विभिन्न विद्यालयमा सन्चालन गरिएको साक्षरता कार्यक्रम सम्वन्धित स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको छ । सात स्थानीयतहमा सन्चालित पठनसिप विकास कार्यक्रम सोमवार हस्तान्तरण गरिएको हो । सम्वन्धित स्थानीय तहसँगको साझेदारीमा रुम टु रिड र रुडेक नेपालले सन् २०२२ र २०२३ बाट संचालन गरेको साक्षरता (पठनसिप विकास) कार्यक्रम कार्यक्रमकावीच हस्तान्तरण गरिएको हो ।

नुवाकोटको शिवपुरी, सुर्यगढी, लिखु, तादी, ककनी, पञ्चकन्या गापा र विदुर नगरपालिकाको ६८ विद्यालयमा उक्त कार्यक्रम सन्चालन गरिएको थियो । कार्यक्रम सन्चालित सातवटै पालिकालाई कार्यक्रम निरन्तरताको शुभकामना सहित हस्तान्तरण पत्र प्रदान गरिएको हो । साथै कार्यक्रम सन्चालित विद्यालयका प्रधानाध्यापकहरुलाई प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा ककनी गापाका अध्यक्ष सुमन तामाङ, सातवटै पालिकाका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि, विस्तारित शिक्षा तालिम केन्द्रमा प्रमुख रमेश लामिछाने, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम सिंहठकुरीलगायतले कार्यक्रमको प्रभावकारीता र शिक्षाको विकासका सम्वन्धमा चर्चा गरेका थिए । कार्यक्रममा रुडेक नेपालका कार्यक्रम व्यवस्थापक सन्तोष खनालले चार वर्षदेखि दुई चरणमा गरि ६८ वडा विद्यालयमा सो कार्यक्रम सन्चालन गरि उपलव्धिमुलक भएको वताए ।

सो कार्यक्रमवाट कक्षा १ देखि ५ सम्मका हजारौं विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रममा ककनी गापाका अध्यक्ष सुमन तामाङले साक्षरता कार्यक्रमले विद्यालयका कक्षा १, २, ३ का विद्यार्थीले उचित रुपमा अध्ययन गर्न सक्ने भएको र कार्यक्रम निकै फलदायी रहेको बताए । उनले कार्यक्रममार्फत प्रारम्भिक तहका बालबालिकाको सिकाईमा सुधार भएको आफैले प्रत्यक्ष अनुभुती गरेको बताए ।

उनले यस कार्यक्रमलाई पालिका भित्रका विद्यालयमा निरन्तरता दिने र तालिम प्राप्त शिक्षकहरुलाई स्रोत शिक्षकको रुपमा परिचालन गर्न आफु प्रतिबद्ध रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम सिंहठकुरीले साक्षरता कार्यक्रमले विद्यार्थीको शैक्षिक उपलब्धीमा सुधार देखिएको वताउंदै यस कार्यक्रमलाई स्थानीय तहले प्राथमिकतामा राखेर स्रोत व्यवस्थापन गरी निरन्तरता दिइ सबल र सक्षम विद्यार्थी तयार गर्न आवश्यक रहेको वताए ।

उनले विद्यालयको जगलाई प्राथमिकतामा नराखी माथिल्लो तहको शैक्षिक नतिजा मात्र खोज्ने परिपाटीलाई अन्तय गर्दै प्रारम्भिक कक्षामा लगानी गरी सिकाई सुधार गर्न आवश्यक रहेको वताए । कार्यक्रममा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले सन् २०२२ देखि आधारभूत तहको विद्यार्थीको सिकाइमा सुधार गर्ने कार्यलाई पालिका र साझेदार निकाय सँगको हातेमालो गर्दै विद्यार्थीको मुहारमा मुस्कान ल्याउने कार्य गरिरहेकोमा सम्पूर्ण पालिका टिम, शिक्षक, विद्यार्थी र सम्बद्द सबैलाई आभार वयक्त गर्दै विद्यालय क्षेत्र सुधार कार्यमा फरक तरिकाले कार्यक्रमहरुलाई निरन्तरता दिने तर्फ रुडेक नेपाल लागिरहने प्रतिबद्दता व्यक्त गरे ।





















































