बल्छीको निर्देशनको चलचित्रको शिर्ष गीत सार्वजनिक
बिदुर– एकपछि अर्को परिचय थप्दै अगाडि वढेका हास्य कलाकार मरिचमान श्रेष्ठ अर्थात् (बल्छी धुर्बे)को निर्देशनमा निर्माणाधिन चलचित्रको शिर्ष गीत सार्वजनिक भएको छ । उनले आफैंले गाउनुका साथै अभिनय गरेको उक्त चलचित्रको शिर्ष गीत सार्वजनिक भएसंगै दर्शकले मन पराउन थालेका छन् । चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यु निर्देशकीय चलचित्र ‘गोबर गणेश’को शिर्ष गीत ओ हेल्लो हाइहाई हेर तेरो दाईलाई वोलको गीत सार्वजनिक गरिएको हो ।

हास्य, आकर्षक र रमाइलो शैलीमा तयार पारिएको यस गीतमा कलाकार तथा निर्देशक श्रेष्ठ स्वयंको स्वर रहेको छ । यस गीतको शब्द तथा संगीत बाबुल गिरीको हो । गम्भीर विष्टको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा मरिचमानसँगै वर्षा सिवाकोटी, निर्मल शर्मा, पदम तामाङ, पुजन घिमिरे (पुकु) लगायत कलाकारलाई देख्न सकिन्छ ।

भिडियोका केही दृश्यमा मरिचमान सुटबुटमा ठाँटिएर प्रस्तुत भएका छन् भने केहीमा उनी विद्यालयको पोशाकमा देखिएका छन् । गीतले फिल्ममा उनको पात्र पढाइमा कमजोर रहेको खुलासा गर्छ । सबै काममा अब्बल पात्र पढाइमा भने कमजोर रहेको कुरालाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ । आगामी माघ १ गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवराम श्रेष्ठको डीओपी तथा विपिन मल्लको सम्पादन रहेको छ । निर्देशक श्रेष्ठले चलचित्र आफ्नो डेव्यु निर्देशन रहेपनि यसले समाजको भावना र कथा उतारेको वताए, दर्शकले नयां पाउनेछन्, मन पराउनेछन्–गीत लोकप्रिय हुदै गएपछि उनले भने । आफूले दर्शक हँसाउनका लागि फिल्म बनाएको बताएका छन् ।

उनले अगाडि भने ‘यसभित्र मेरो अनगिन्ती सपना, पसिना र प्रार्थना मिसिएको छ, हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि दिनुहुन्छ भन्ने पूर्ण विश्वास रहेको र हामीले यस चलचित्र दर्शकलाई हँसाउन बनाएका हौं ।’












































