अस्पतालमा आकस्मिक प्रतिकार्य अभ्यास

– उपचारमा सक्रिय र प्रभावकारीतामा जोड
लोकखवर विशेष संवाददाता
२०८२ पुष १२, शनिबार १५:१६

बिदुर– उपचार सेवामा सक्रियता र प्रभावकारितामा जोड दिदै नुवाकोटको त्रिशूली अस्पतालमा आकस्मिक घटना प्रतिकार्य सम्वन्धि अभ्यास गरिएको छ । यसवाट आम सर्वसाधारण विरामीले सेवा प्रवाहमा सरलता हुने प्रतिवद्धता जनाइएको छ ।

त्रिशूली अस्पतालले आकस्मिक प्रतिकार्यसम्बन्धि कृत्रिम घटना अभ्यास गर्दै प्रदर्शन गरेको हो । आकस्मिक प्रतिकार्य क्षमताको अभिवृद्धि गर्ने उद्देश्यसहित कृत्रिम घटना अभ्यास (मक ड्रिल) गरिएको हो ।

अस्पतालको वार्षिक कार्ययोजनाअन्तर्गत सञ्चालन गरिएको उक्त अभ्यासमा बस दुर्घटना भएको काल्पनिक दृश्य खडा गरी घाइतेहरूको उद्धार, उपचार र व्यवस्थापन प्रक्रिया अभ्यास गरिएको थियो । अभ्यासका क्रममा दुर्घटनामा परेका घाइतेहरूको अवस्थाअनुसार त्रियाज प्रणाली अपनाइ रातो (गम्भीर), पहेंलो (मध्यम) र हरियो (सामान्य) श्रेणीमा वर्गीकरण गर्दै तत्काल उद्धार र उपचार प्रक्रिया अगाडि बढाइएको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए ।

यस अभ्यासले आपतकालीन अवस्थामा बिरामीलाई प्राथमिकताका आधारमा सेवा दिन अस्पतालको तयारी अवस्था परीक्षण गर्न सहयोग पु¥याएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । उनले आकस्मिक अवस्थामा अस्पतालमा उपलब्ध मानव जनशक्ति, उपकरण र स्रोतसाधनको प्रभावकारी परिचालनका साथै विभिन्न विभागीय चिकित्सक, स्वास्थ्यकर्मी तथा एम्बुलेन्सकर्मीहरूको भूमिकाबारे पुनर्ताजगी गराउने उद्देश्यले अभ्यास कार्य गरिएको वताए ।

अभ्यास कार्यक्रममा स्वास्थ्यकर्मी, कर्मचारी, अस्पतालका पदाधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । उक्त घटना अभ्यासले सम्भावित विपद्को समयमा समन्वय, तत्परता र सेवाको गुणस्तर प्रभावकारी हुने त्रिशूली अस्पतालले विश्वास लिएको छ ।


सर्वाधिक रुचाइएको