कारागारमा ९५ प्रतिशत मतदान
बिदुर– प्रतिनिधि सभा सदस्य निर्वाचन अन्र्तगत विहीवार नुवाकोटसहित देशैभर मतदान कार्य भइरहेको छ । अस्थायी मतदान केन्द्र रहेको केन्द्रीय कारागार नुवाकोटमा मतदान सम्पन्न भएको छ । विदुर नगरपालिका ६ चण्डीपोखरीस्थित केन्द्रीय कारागार नुवाकोटमा रहेको अस्थायी मतदान केन्द्रमा ९५ प्रतिशत मत खसेर मतदान सम्पन्न भएको हो ।

सो केन्द्रमा रहेका एकसय ४५ मध्ये एकसय ३५ जना मतदाताले मतदान गरिसकेको मतदान अधिकृत मानवहादुर मानन्धरले जानकारी दिए । उनका अनुसार एकसय ४२ जना कैन्दीवन्दी र तीन जना कर्मचारीसहित एकसय ४५ जना अस्थायी मतदाता रहेकोमा एकसय ३५ मत खसेको हो । नामावली रहेका सात जना कैदीवन्दी कोही कैद भुक्तान गरेर घर गएको र कोही अन्यत्र कारागार सरुवा भएकोमा ९५ प्रतिशत मत खसेको जनाइएको छ ।

केन्द्रीय कारगार नुवाकोटमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा रहेका कैदीवन्दी एकसय ३२ र तीन जना मतदान कर्मचारीले मतदान गरेका हुन् । उक्त कारागारमा रहेका कैदीवन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्र कायम गरिएको थियो । तीन घण्टामै सो मत खसेको निर्वाचन अधिकृत मानवहादुर मानन्धरले जानकारी दिए ।

उनका अनुसार मतदान ९५ प्रतिशत भएपछि निर्वाचन आयोगको निर्देशन अनुसार कार्य सम्पादन गरिएको छ । केन्द्रीय कारगार नुवाकोटमा एकसय ४२ जना कैदीवन्दी र अन्य तीन जना अस्थायी मतदाता नामावलीमा नाम समावेश रहेका कर्मचारीसमेत गरि एकसय ३५ जनाले मतदान गरेका हुन् । निर्वाचन अधिकृत मानन्धरका अनुसार मतपेटिका भने वेलुकी ५ वजेसम्म नै मतदान केन्द्रमा राखिने छ ।
















































