तरकारी संकलन केन्द्रको निर्माण सुरु

– पौने दुई करोडको लागत
लोकखवर विशेष संवाददाता
२०८२ चैत्र १२, बिहीबार ०१:२७

बिदुर- तरकारी उत्पादक किसानहरुको सुविधाका लागि नुवाकोटको माझिटारमा तरकारी संकलन केन्द्रको निर्माण सुरु गरिएको छ । दुई महिनामा केन्द्र निर्माण गर्ने उद्धेश्यले निर्माण कार्य सुरु भएको हो । विदुर नगरपालिका ५ को वडा कार्यालय परिसरमा निर्माण सुरु गरिएको तरकारी संकलन केन्द्रको बिदुर नपाका मेयर राजन श्रेष्ठले सिलान्यास गरे ।

उनले यसलाई गुणस्तरिय रुपमा निर्माण गरेर तरकारी उत्पादक किसानहरुलाई प्रभावकारी रुपमा लाभ उपलव्ध गराइने बताए । सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत उक्त केन्द्रको निर्माण सुरु भएको हो । उक्त सुविधासम्पन्न तरकारी संकलन केन्द्रको लागी आवश्यक दुई भवन पानी शौचालय सहितको निर्माण हुने विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उक्त संकलन केन्द्रको निर्माण कार्य आगामी २०८३ साल जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । कुल एककरोड ६० लाख रुपैयाको लागतमा निर्माण गरिने तरकारी संकलन केन्द्रले किसानको उत्पादन गरेको कृषि उपज खरिद र बजारिकरण गर्न सहजता प्रदान गर्ने छ । शिलान्यास कार्यक्रममा उपमेयर प्रभा बोगटी, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, अन्य जनप्रतिनिधि, सरोकारवाला, सकान, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

नुवाकोटको माझिटार, पिपलटार तरकारी तथा अन्न भण्डारको रुपमा रहेको छ । विदुर नगरपालिकाले सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत विभिन्न योजनामा १६ करोड बराारको कार्यक्रम सञ्चालनमा साझेदारी गरेको छ । वडा कार्यालय भवन निर्माण, सडक निर्माण, शौचालय निर्माण लगायतका योजना कार्यान्वयनमा ल्याएको विदुर नपाले जनाएको छ ।


सर्वाधिक रुचाइएको