शान्ति सुरक्षा र विपद न्युनीकरणका सम्वन्धमा सुनुवाई

– प्रभावकारी कार्य योजनामा जोड
लोकखवर विशेष संवाददाता
२०८२ चैत्र १४, शनिबार ०२:१५

बिदुर – प्रभावकारी रुपमा कार्य योजनामा जोड दिदै नुवाकोटको खरानीटारमा  शान्ति सुरक्षा र विपद न्युनीकरणका सम्वन्धमा कार्यक्रम सन्चालन गरिएको छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा सन्चालन र विपद् व्यवस्थापन लगायत विषयमा नुवाकोटको तादी गाउंपालिकाको खरानीटारमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । जिल्ला प्रशासन कार्यालय  र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजना तथा तादी गाउँपालिकाको समन्वयमा सन्चालित कार्यक्रममा आम सर्वसाधारणका लागि सरोकारवाला निकायले प्रभावकारी रुपमा कार्य गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, तादी गापाकी  उपाध्यक्षसन्जु प्याकुरेलश्रेष्ठ, प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी नायव उपरिक्षक गंगा केसी,  तादी गापाका  प्रमुख प्रशासकीय अधिकृत सुजनशुभ भ्लोन,  जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रहरी निरीक्षक विनोद ढकाल,  इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक लोकराज पाठकलगायतले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा सन्चालन र विपद् व्यवस्थापन लगायत विषयमा प्रभावकारी रुपमा कार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।  साथै कार्यक्रममा तादी गापाका विभिन्न वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, ईलाका प्रशासन कार्यालय सातविसेका प्रमुख सावित्रा भण्डारी, तादी गाउँपालिका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु विषयगत शाखाका कर्मचारीहरु, स्वास्थ्यकर्मीहको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

सोही क्रममा  सार्वजनिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्बन्धि अन्र्तक्रियासमेत गरिएको थियो ।  कार्यक्रममा नागरिक सुनुवाई तथा लागू औषध नियन्त्रण सम्बन्धि कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।  साथै “समुदाय–प्रहरी साझेदारी” अबधारणा अन्तर्गत तादी गापा ३ खरानीटार स्थित “नागरिक सुनुवाई कार्यक्रम“ सम्पन्न गरिएको छ  ।

कार्यक्रममा प्रहरी सेवा, सवारी चेकजाँच, अपराधहरुको रोकथामको लागि प्रहरीले चाल्नुपर्ने कदमहरु तथा समाजमा बढ्दो रुपमा भएको चोरी, डकैती, लुटपाट जस्ता घटनाहरु रोकथाम तथा नियन्त्रण गर्नका लागि दैनिक रुपमा चेकजाँच, प्रहरी गस्ती बढाउनु पर्ने, प्रहरी सेवा थप प्रभावकारी बनाउन सेवाग्राहीहरु तथा नागरिकहरुले माग गरेका छन् । उक्त नागरिक सुनुवाई कार्यक्रममा बोल्दै तादी गापा अध्यक्ष सन्तमान तामाङले विवाह गर्न पाउने कानूनी व्यवस्था परिमार्जन  हुनुपर्ने माग गरे ।

उनले विवाहका लागि २० वर्ष उमेर पुग्नुपर्ने कानुनी प्रावधानका कारण विभिन्न समस्या देखिएका कारण यसलाई परिवर्तन गरिनु पर्ने वताए । २० वर्ष नपुगी विवाह गर्न नपाउँदा धेरै युवाहरू वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको जनाउंदै अध्यक्ष तामाङले विवाहको उमेर १८ वर्ष बनाउनुपर्ने वताए । उनले विभिन्न समस्या समाधानका लागि पनि विवाह गर्ने उमेरमा परिमार्जन गर्नु पर्ने वताए ।


सर्वाधिक रुचाइएको