क्षतिग्रस्त भवन पुर्ननिर्माणका लागि एमालेले रकम संकलन गर्ने

– निर्वाचनको समिक्षा र सदस्यता नवीकरणको निर्णय
लोकखबर
२०८३ बैशाख ८, मंगलवार ०१:२६

बिदुर – नेकपा (एमाले) नुवाकोटले गत भदौमा जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको जिल्ला पार्टी कार्यालय पुर्ननिर्माणमा सहयोग संकलन गर्ने निणृय गरेको छ । जिल्ला कमिटीको सातौं पूर्ण बैठकले क्षतिग्रस्त विदुरस्थित पार्टी कार्यालय पुर्ननिर्माणमा नेताहरुसंग आर्थिक संकलन गरिने निर्णय गरेको हो । जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा सम्पन्न बैठकले गत भदौ २४ गते भएको जेनजी पुस्ताको आगजनीबाट क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माणका लागि जिल्ला कमिटी सदस्यबाट न्यूनतम ५ हजार रुपैयाँ र प्रदेश कमिटी सदस्यबाट कम्तीमा १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

साथै, सहयोग प्रतिबद्धता जनाएर रकम बुझाउन बाँकी सदस्यहरूलाई वैशाख २० गतेभित्र बुझाउन जिल्ला कमिटिी वैठकले अनुरोध गरेको छ । उक्त वैठकको एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज केशवराज पाण्डले उद्घाटन गरेका हुन् । उनले गत निर्वाचनको समिक्षा गर्दै पार्टीलाई जनतामाझ विस्वसनीय वनाएर लैजानु पर्ने वताए ।

अर्का केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का इन्चार्ज बिन्दा ढुंगानाले निर्वाचनको परिणामको गाउं, टोल, वडास्तरमै पुगेर समिक्षा गरेर कमि कमजोरीहरुलाई सुधार गर्दै लैजानु पर्ने वताइन् । कार्यक्रममा सहभागी जिल्ला कमिटिका पदाधिकारी, सचिवालय सदस्य तथा जिल्ला सदस्यहरुले आआफ्नो धारणा राखेका थिए ।  सातौं पुर्ण बैठकले सात वटा महत्वपूर्ण निर्णयहरू गरेको एमाले जिल्ला सचिव शिवकुमार चित्रकारले वताए ।

बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा क्षेत्र नं. १ र २ मा पार्टी तथा उम्मेदवारको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकप्रति आभार व्यक्त गरेको छ । साथै, दुवै निर्वाचन क्षेत्रमा प्राप्त मत परिणाम र संगठनात्मक अवस्थाको समीक्षा गर्दै आगामी दिनमा जनसरोकारका विषयमा जनतासँग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको छ । त्यस्तै, पार्टी सदस्यता लिएका सदस्यहरूलाई २०८२ जेठ मसान्तभित्र सदस्यता नवीकरण गर्न आग्रह गरिएको छ ।

पालिका तथा वडास्तरमा निर्वाचन परिणामको समीक्षा गरी पार्टी सुदृढीकरणका योजना बनाइ जिल्ला कार्यालयमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । यसैबीच, विरामी भई उपचाररत एमाले जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्ररमण खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय पनि बैठकले गरेको छ ।


सर्वाधिक रुचाइएको