किसानहरुलाई अकबरे खुर्सानीको बेर्ना प्रदान

– नगदे बाली प्रवद्र्धन कार्यक्रम
लोकखवर आर्थिक संवाददाता
२०८३ बैशाख ८, मंगलवार २३:३८

बिदुर – नगदे बाली प्रवद्र्धन कार्यक्रम अन्र्तगत नुवाकोटको बेलकोटगढीमा किसानहरुलाई अकबरे खुर्सानीको वेर्ना प्रदान गरिएको छ । नगदे बालीको रुपमा बिकास गरौं, खुर्सानी खेति सुरुवात गरौं भन्ने मुल नाराका साथ मंगलवारदेखि किसानहरुलाई अनुदानमा अकबरे खुर्सानीको बेर्ना प्रदान गर्न सुरु गरिएको हो ।  किसान लक्ष्यित कार्यक्रमअन्तर्गत बेलकोटगढी नगरपालिकाले किसानहरुलाई अनुदानमा अकबरे खुर्सानीको बिरुवा वितरण सुरु गरेको हो ।

मेयर जगतबहादुर गुरुङ र उपमेयर शिवप्रसाद दाहालले संयुक्त रूपमा मंगलवारदेखि किसानहरुलाई अनुदानमा अकबरे खुर्सानीको बेर्ना बितरण गरेका हुन् ।  यसवाट किसानहरु खेति प्रणालीप्रति उत्साहित भएका छन् । किसानहरुले नगदे बालीको रुपमा रहेको अकबरे खुर्सानीवाटै आयआर्जन गर्नका लागि ५० प्रतिशत अनुदानमा अकबरे खुर्सानीको बेर्ना प्रदान गरिएको मेयर गुरुले बताए ।

यस वर्ष एकलाख अकबरे खुर्सानीको वेर्ना वेलकोटगढी नपाका किसानहरुलाई वितरण गर्ने लक्ष्य रहेको छ । प्रति बोट तीन रुपैया ५५ पैसा तिरेपछि अनुदानका अकबरे खुर्सानीको बेर्ना प्रदान गर्ने कार्य धमाधम भइरहेको छ ।  किसानहरुलाई अनुदानमा अकबरे खुर्सानीको विरुवा गत वर्ष पनि वितरण गरिएकोमा त्यसले सफलता प्राप्त गरेपछि यस वर्ष पनि प्रदान गरिएको हो ।

यसवाट किसानहरुले विगतका वर्षहरूझैँ आफुलाई आयआर्जनमा सवल वनाउने उद्धेश्य रहेको उपमेयर शिवप्रसाद दाहालले वताए ।  अकबरे खुर्सानीको बेर्ना माग गरेका किसानलाई सहज रूपमा बिरुवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आर्थिक विकास शाखा (कृषि) का कर्मचारीहरूले बिरुवा वितरण तथा व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइरहेको नपा कार्यालय वाघखोरले जनाएको छ ।

यसले वेलकोटगढी नगरबासीको आम्दानी वृद्धि, नगदे बालीको प्रवद्र्धन, थोरै लगानीमा राम्रो आम्दानी र बाँदर समस्यालाई समेत ध्यानमा राख्दै किसानको मागअनुसार पछिल्ला वर्षदेखि अकबरे खुर्सानी खेतीलाई प्राथमिकता दिइएको नपा कार्यालयले जनाएको छ । बजारमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलोग्राम तीनसय देखि पांच रुपैयाँसम्म पर्ने गरेको छ भने कहिले त  एक हजार रुपैयाँभन्दा माथिसम्म पुग्ने किसानहरूको भनाइ छ । नेपालको पहाड संरचनामा राम्रो उत्पादन हुने अकबरे खुर्सानी पछिल्लो समय नुवाकोटसहित देशका विभिन्न जिल्लामा व्यवसायिक रूपमा विस्तार हुँदै गएको छ ।

यो खुर्सानी गाढा पिरो स्वाद र विशेष वास्नाका कारण लोकप्रिय मानिन्छ ।  अकबरे खुर्सानीलाई तरकारी, अचार तथा तोरीको तेल, नुन वा अचार वनाउने चलनसमेत छ । यसमा भिटामिन ए र सी प्रशस्त मात्रामा पाइने भएकाले स्वास्थ्यका हिसाबले समेत लाभदायक मानिन्छ ।

 


सर्वाधिक रुचाइएको