दुप्चेश्वरमा १०८ धारा निर्माण सुरु
बिदुर – पशुपतिको पर्यायको रुपमा रहेको प्रसिद्ध दुप्चेश्वर धाम परिसरमा १०८ धाराको निर्माण कार्य सुरु गरिएको छ । यसवाट झक्तजनहरुको आगमन वढ्ने अपेक्षा गरिएको छ ।

दुप्चेश्वर गाउंपालिका ६ स्थित करेजुङको पहरामा रहेको पवित्र दुप्चेश्वर महादेव धाममा १०८ धारा निर्माणको क्रममा पाइप गाड्ने कार्य सुरु गरिएको छ । पाइप गाड्ने अभियानमा सर्वसाधारणसमेत सहभागी भइरहेका छन् ।

प्रसिद्ध दुप्चेश्वर महादेव धाम परिसरमा श्रद्धालु भक्तजनको सुविधा, धार्मिक महत्वको संरक्षण तथा धामको समग्र विकासका लागि १०८ पवित्र धारा निर्माण अभियान सन्चालन गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए । उनका अनुसार यो केवल निर्माण कार्य मात्र नभई भगवान शिवको सेवामा समर्पित एक पुण्य अभियान भएको वताए ।

सर्वसाधारणलेसमेत मन्दिर, धारा तथा तीर्थस्थल निर्माण र संरक्षणमा गरिएको श्रमदानलाई धर्मशास्त्रले महान् पुण्यको कार्य मानेको उल्लेख गर्दै सहभागीता जनाइरहेका छन् । झण्डै २ किलोमिटर पाइप जडान तथा गाड्ने कार्य सुरु गरिएको दुपचेश्वर विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले वताए ।

उनले पाइप गाड्ने अभियानमा आफ्नो विशेष र महत्वपुर्ण समय, श्रम, सीप र सहयोग प्रदान गरी सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजन, युवावर्ग, आमा समूह, समाजसेवी तथा शुभेच्छुक महानुभावहरूमा आह्वान गरिएको छ । दुप्चेश्वर महादेव धामको सेवामा एक दिन श्रमदान गर्न कोषले आम सर्वसाधारणमा अनुरोध गरेको हो ।















































