बोर्डको सहयोगमा विभिन्न प्रशिक्षण

– फोटोग्राफी तथा चलचित्र पत्रकारिता तालिम प्रदान
लोकखवर मनोरन्जन संवाददाता
२०८३ जेष्ठ ३०, शनिबार १३:३३

बिदुर – नेपाली चलचित्रको विकास र प्रवद्र्धनको उद्धेश्यले चलचित्र विकास बोर्डको सहकार्यमा विभिन्न प्रशिक्षणहरु पव्रदान गरिएको छ । फोटोग्राफी तथा चलचित्र पत्रकारिता प्रशिक्षण गरिएको छ । चलचित्र विकास बोर्ड र काठमाडौँ महानगरपालिकाको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सन्चालन गरिएको छ ।

महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने गौरव योजनासँग जोडिएको सो तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारितासम्बन्धी आधारभूतदेखि व्यवहारिक ज्ञान प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको क्षमता अभिवृद्धि वर्षअन्तर्गत सञ्चालन गरिएको तालिमले युवालाई सिर्जनशील सीपमार्फत स्वरोजगार, व्यावसायिक दक्षता र सञ्चार–चलचित्र क्षेत्रमा प्रवेशका अवसर बढाउने अपेक्षा गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई क्यामेरा सञ्चालन, फोटो कम्पोजिसन, प्रकाश व्यवस्थापन, फोटो स्टोरी, भिडियो रिपोर्टिङ तथा व्यावहारिक पत्रकारिताका विषयमा प्रशिक्षण दिने कार्य भइरहेको छ ।

तालिमको प्रारम्भिक कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरू, चलचित्र विकास बोर्डका सदस्यहरू, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महानगरपालिकाका प्रतिनिधिले तालिमको उद्देश्य र अपेक्षित उपलब्धिबारे प्रकाश पारेका थिए भने चलचित्र विकास बोर्डका तर्फबाट तालिमले नेपाली चलचित्र, सञ्चार र दृश्य–कला क्षेत्रमा पु¥याउने योगदानबारे चर्चा गरिएको थियो । तालिममा वरिष्ठ फोटोग्राफर प्रदीपराज वन्त, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल तथा वरिष्ठ पत्रकार एवं फोटोग्राफर श्रीधर पौडेललगायतले प्रशिक्षण दिइरहेका छन् ।

चलचित्र विकास बोर्डले यस्ता सीपमूलक कार्यक्रमले नयाँ पुस्तालाई प्राविधिक रूपमा सक्षम बनाउँदै चलचित्र तथा सञ्चार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको अध्यक्ष डिसीको भनाई छ । यसका साथै चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धीे तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरमा तीन दिनसम्म तालिम सञ्चालन भएको हो ।

चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने, समीक्षा लेखनलाई व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकार सहभागी थिए । तालिममा राजेश गङ्गाजु, अखण्ड भण्डारी र शन्ताराम बिडारीले सहजीकरण गरेका थिए । चलचित्र समीक्षा लेखन, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्यांकन, दर्शक दृष्टिकोण र जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको समापन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुनुका साथै स्वस्थ्य समीक्षा र तथ्यपरक पत्रकारिताले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पु¥याउने धारणा राखे । अध्यक्ष डिसीले चलचित्रका सकारात्मक तथा आलोचनात्मक पक्षलाई सन्तुलित ढंगले प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गरे । यस्ता तालिमले चलचित्र पत्रकारितामा व्यावसायिकता र नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

आयोजक आइडिया ग्रोभका प्रतिनिधिहरूले तालिमले सहभागी पत्रकारहरूलाई चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिताको व्यावहारिक ज्ञान हासिल गर्ने अवसर दिएको बताए । तालिम अवधिभर अन्तरक्रिया, अनुभव आदानप्रदान र अभ्यासमूलक सत्रसहित सम्पन्न भएको आयोजकले जनाएको छ ।


सर्वाधिक रुचाइएको