अशक्तलाई सहायक सामग्री
बिदुर – नुवाकोटको बिदुर नगरपालिकामा अशक्त सम्वद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । यसवाट अशक्तहरुलाई सुविधा र सहजता भएको छ । बिदुर नपा २ दम्कीका अशक्त गोविन्दप्रसाद न्यौपानेलाई एकथान व्हिलचेयर हस्तान्तरण गरिएको हो ।
वैदेशिक रोजगारीको क्रममा मलेसियामा दुर्घटनामा परी हाल हिँडडुल गर्न असमर्थ रहेका न्यौपानेको स्वास्थ्य अवस्था तथा आवश्यकतालाई मध्यनजर गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उक्त सहयोगको मुख्य उद्देश्य शारीरिक रूपमा असहज अवस्थामा रहेका नागरिकको दैनिक जीवनयापन, आवतजावत तथा सामाजिक गतिविधिमा सहभागिता सहज बनाउनुका साथै उनीहरूको आत्मनिर्भरता र जीवनस्तरमा सकारात्मक सुधार ल्याउनु रहेको मेयर श्रेष्ठको भनाई रहेको छ ।

उनका अनुसार विदुर नपाले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने तथा नागरिकहरूको सुख–दुःखमा साथ दिने, आवश्यकता अनुसार सहायता सामग्रीहरु सहयोग प्रदान गर्दै समावेशी र मानवीय स्थानीय शासनको अभ्यासमा प्रतिबद्ध रहेको छ । आगामी दिनहरूमा पनि नगरवासीको आवश्यकता र समस्याप्रति संवेदनशील रहँदै यस्ता सहयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइन विदुर नपाले जनाएको छ । यसवाट अशक्तलाई आवतजावत र हिडडुल गर्न सुविधा पुगेको छ ।











































