‘चमेलीको पोई’ आउने मिति तय
बिदुर – वहुप्रतिक्षित र चर्चित नयाँ नेपाली चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय भएको छ । देशको समसामयिक अवस्थाका कारण निर्माण पक्षले पूर्व घोषित प्रदर्शन मिति परिवर्तन भएकोमा निर्माण पक्षले नया प्रदर्शन मिति सार्वजनिक गरेको हो । सफल तथा अनुभवी एभरेष्ट सूर्य बोहरा निर्देशित ‘चमेलीको पोइ’ रामनवमी अर्थात आगामी चैत १३ गते दर्शकमाझ ल्याइने मिति तय भइसकेको भए पनि निर्वाचनलगायतका कारणले प्रदर्शन मिति स्थगित गरेकोमा हाल आएर वडादशैंको छेको पारेर नयां मिति अर्थात् आगामी असोज १६ गते प्रदर्शन सुरु गरिने निर्माण पक्षले जनाएको छ ।

बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’ बडादशैंका अवसर पारेर असोज १६ गतेबाट प्रदर्शनमा आउने भएको निर्माता रामनारायण उपाध्यायको भनाई छ । निर्माता उपाध्यायले चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यसअघि गत वर्षको चैत १३ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको थियो । यससंगै नयाँ चलचित्र चमेलीको पोइको पहिलो गीत आउने दिनसमेत तय गरिएको छ ।

आगामी असार १५ गते सोमबार दही चिउरा खाने दिन चमेलीको पोइको पहिलो गीत सार्वजनिक गरिने निर्देशक बोहराले वताए । उनले अगाडि भने – निकै मेहनत गरेर वनाइएको चलचित्रको प्रदर्शनको मिति सार्वजनिक गर्न पांउंदा निकै खुसी लागेको छ । सो चलचित्रका मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाल रहेका छन् । यद्यपि, निर्माण पक्षले कथावस्तुबारे जानकारी भने गराएको छैन, चलचित्र नै कुर्नु पर्ने भएको छ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण गरिएको ‘चमेलीको पोइ’ को निर्माता रामनारायण उपाध्यायले निर्देशक बोहराको समूहले निकै मेहनतका साथ सवै परिस्थिथितिको आंकलन गरेर समयमै चलचित्र निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गर्दै नयां प्रदर्शन मिति तय गरिएको जनाएका छन् । हाम्रो लागि हामीले बनाएको हाम्रो चलचित्र ‘चमेलीको पोई’ महत्वपूर्ण छ, हामीहरु इसलाई दर्शकहरुसम्म लैजान आतुर छौ । ‘चमेलीको पोई’ को केही समयअघि सार्वजनिक फस्र्टलुक पोस्टरबाट चर्चा पाएको चलचित्र प्रदर्शनका लागि आफुहरु अव हलमा दर्शकहरुकोे पर्खाइमा रहेको निर्देशक एभरेष्ट सुर्य बोहराको भनाई छ ।

निर्देशक बोहराकै कथा, शिवम अधिकारीको पटकथा र शेरबहादुर तामाङको छायांकन रहेको सो चलचित्रको निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय रहेका छन् । उदयविक्रम राणा, रितु मल्लठकुरी तथा कपिल आचार्य कार्यकारी निर्माता रहेको सो चलचित्रको सह–निर्मातामा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली तथा सुदीप कुँवर हुन् । यसैमार्फत लामो समयपछि चर्चिच हास्य कलाकार नारायण त्रिपाठी कमव्याक भएका छन् ।

चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएलशाही, रितु मल्लठकुरीलगायतले अभिनय गरेका छन् । यस चलचित्र आरआर फिल्मसले वितरण गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रको पोष्टरमा सुरक्षाले मुकुनको दुईवटै खुटा समातेर भुइँमा तानिरहेको दृश्य देखिन्छ ।

मुकुन भने पीडामिश्रित र रुन्चे अनुहारमा कसैसँग सहयोग मागिरहेका छन् । यसले पति पत्नीको विषय उठान गरेको प्रष्ट भएको संकेत गर्छ । यस चलचित्रको गीतमा राजनराज सिवाकोटी र आशिष अविरलको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व रहेको छ ।











































