सेवा सन्चालनका सम्वन्धमा अन्र्तक्रिया
बिदुर– प्रशासनिक सेवा सन्चालनका सम्वन्धमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्र्तक्रिया तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा प्रशासनिक सेवा सन्चालनका सम्वन्धमा जानकारी गराइएको थियो । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजना तथा दुप्चेश्वर गाउँपालिकाको समन्वयमा दुप्चेश्वर गापाको सभाहलमा अन्र्तक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट प्रवाह हुने विभिन्न सेवाहरू, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, नागरिकका गुनासा तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आम सर्वसाधारणलाई प्रभावकाररी रुपमा प्रशासनिक सेवा लिन आग्रह गरे । कानून र मापदण्डले तोकेको विद्यि र प्रक्रिया पु¥याएर सेवा लिन पनि उनले सुझाव दिएका छन् ।

कार्यक्रममा दुप्चेश्वर गापाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी लगायत जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला महानुभावहरूको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले स्थानीय तहमा सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापन तथा शान्ति सुरक्षासम्बन्धी विविध जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए ।

सम्बन्धित निकायका प्रमुखहरूले उठाइएका विषयमा आवश्यक जानकारी तथा जवाफ प्रदान गरेका थिए । कार्यक्रमले नागरिक र सरकारी निकायबीचको समन्वय, पारदर्शिता, जवाफदेहिता तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।











































