विद्यार्थीहरुलाई कानूनी तथा ट्राफिक सचेतना
बिदुर– नुवाकोटमा विद्यार्थीमाझ ट्राफिक प्रहरी कार्यक्रम सन्चालन गरिएको छ । यसअन्र्तगत विद्यार्थीहरुमा कानूनी तथा ट्राफिक सचेतना प्रदान गरिएको छ । सूर्यगढी गाउँपालिका ३ चोकदेस्थित बागेश्वरी माविमा विद्यार्थीहरूका लागि कानूनी तथा ट्राफिक सचेतना अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ ।

कार्यक्रममा सरोकारवालाहरुले विद्यार्थीहरुलाई कानून तथा सडक सुरक्षाका सम्वन्धमा प्रारम्भिक जानकारी प्रदान गरेका हुन् । विद्यार्थीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय नुवाकोटका प्रतिनिधिहरूले न्याय सम्पादन प्रक्रिया, कानुनी अधिकार, कर्तव्य तथा कानुनसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराएका थिए ।जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रतिनिधिले ट्राफिक नियमको पालना, सडक दुर्घटना न्यूनीकरण, मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) तथा लागुऔषध सेवनपछिको सवारी सञ्चालन (लापसे) का जोखिम र कानूनी व्यवस्थाबारे विद्यार्थीहरूलाई सचेत गराएका थिए ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी निरीक्षक बिनोद ढकालले स्थानीय तह तथा विद्यालयहरूसँगको सहकार्यमा जिल्लाका विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक नियम, दुर्घटना न्यूनीकरण, मापसे तथा लापसे सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको वताए । उनले नागरिकस्तरमा सचेतना अभिवृद्धि गर्न विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै ट्राफिक नियमको पालनामा सुधार ल्याउने प्रयास भइरहेको बताए ।

विद्यार्थीहरूलाई कानूनी सचेतना र सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमबाट सहभागीहरूले यस सम्वन्धि प्रारम्भिक जानकारी प्राप्त गरेका छन् । कानूनी सचेतना तथा ट्राफिक नियम विद्यार्थीहरुलाई प्रदान गरिए उनीहरुले गाउंसमाज तथा आफ्नो घरपरिवारलाई जागरुक गराउने सुर्यगढी गापा अध्यक्ष शन्तवहादुर घलेले वताए ।











































